
झापा । पूर्वी नाका हुँदै हुने आयातनिर्यातको प्रमुख केन्द्रका रूपमा रहेको मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो आठ महिनामा लक्ष्यको नजिक पुग्दै राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालयले लक्ष्यभन्दा केही कम राजस्व संकलन गरेको हो । समग्र प्रगति हेर्दा कार्यालयले राखेको लक्ष्य पूर्ण रूपमा हासिल हुन सकेको छैन । तर, पछिल्लो महिनामा देखिएको सुधारले वार्षिक लक्ष्यतर्फ आशा जगाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ११ अर्ब ५८ करोड ६ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ । सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६.०६ प्रतिशत हो । अर्थात्, करिब ४ प्रतिशत लक्ष्य अझै अपुग रहेको देखिन्छ । आठ महिनाको प्रगति हेर्दा लक्ष्यभन्दा केही पछाडि परे पनि नजिकै पुगेको अवस्थालाई सन्तोषजनक मान्न सकिन्छ ।
भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार यस अवधिमा १२ अर्ब ५ करोड ५८ लाख ६९ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको थियो । तर, वास्तविक संकलन लक्ष्यभन्दा करिब ४७ करोड रुपैयाँले कम छ ।
फागुन महिनाको संकलनले भने सकारात्मक मोड दिएको छ । फागुनमा मात्रै १ अर्ब ६५ करोड ८० लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जुन मासिक लक्ष्यको ११०.२६ प्रतिशत हो । अर्थात् लक्ष्यभन्दा झण्डै १० प्रतिशत बढी राजस्व उठाउन सफल भएको देखिन्छ । यसले वर्षको सुरुवाती महिनामा देखिएको सुस्तता पछिल्ला महिनामा सुधार हुँदै गएको संकेत गर्छ ।
राजस्व संकलनका शीर्षकहरू हेर्दा भन्सार महसुल प्रमुख स्रोतका रूपमा देखिएको छ । आठ महिनामा मात्रै भन्सार महसुल शीर्षकमा ४ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ। त्यस्तै, आयातमा आधारित मूल्य अभिवृद्धि कर (भ्याट) पनि अर्को ठूलो हिस्सा हो । जसबाट ४ अर्ब २० करोड १८ लाख ८७ हजार रुपैयाँ उठाइएको छ । भन्सार महसुल र भ्याटले मात्रै कुल राजस्वको ठूलो अंश ओगटेका छन् । यसले आयातमा आधारित राजस्व संरचना बलियो रहेको देखाउँछ ।
अन्य शीर्षकहरूमा पूर्वाधार करबाट १ अर्ब २२ करोड १२ लाख ८० हजार रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुरबाट ३९ करोड २३ लाख ८४ हजार रुपैयाँ र अन्तःशुल्क (आयात)बाट २९ करोड ४२ लाख २४ हजार रुपैयाँ संकलन भएको छ । कृषि सुधार शुल्कबाट १० करोड ९६ लाख रुपैयाँ, हरित करबाट १३ करोड २३ लाख ५४ हजार रुपैयाँ उठाइएको छ ।
निर्यातको योगदान भने तुलनात्मक रूपमा न्यून देखिन्छ । भन्सार महसुल (निर्यात)बाट २२ करोड १७ लाख रुपैयाँ र निर्यात सेवा शुल्कबाट ६ लाख २९ हजार रुपैयाँ मात्रै संकलन भएको छ । यसले अझै पनि व्यापार सन्तुलन आयाततर्फ बढी झुकेको यथार्थलाई उजागर गर्छ ।
साना शीर्षकहरूमा भन्सारसम्बन्धी अन्य आयबाट ६३ लाख ६४ हजार रुपैयाँ र स्वास्थ्य जोखिम कर (वैदेशिक उत्पादन)बाट १ लाख २१ हजार रुपैयाँ उठाइएको छ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि कुल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखेको छ । आठ महिनाको प्रगति हेर्दा अब बाँकी चार महिनामा करिब ७ अर्बभन्दा बढी राजस्व उठाउनुपर्ने देखिन्छ ।
फागुन महिनाजस्तै राजस्व संकलनले प्राथमिकता पायो भने लक्ष्य भेट्ने सम्भावना रहन्छ । त्यसका लागि आयातमा निरन्तर वृद्धि, नाकाको प्रभावकारी व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा कडाइ आवश्यक रहेको सरोकारवालाले बताएका छन् । विशेषगरी सीमावर्ती क्षेत्रबाट हुने अवैध कारोबार र अघोषित आयातलाई नियन्त्रण गर्न सकिएमा लक्ष्य हासिलमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

























