सांकेतिक तस्बिरकैलाली। कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँमा एक व्यक्तिले श्रीमतीको गोली हानी हत्या गरेका छन्। ३१ वर्षीय रामबहादुर मगरले २७ वर्षीया श्रीमती सञ्जिता मगरको हत्या गरेपछि आफैँमाथि पनि गोली प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ। आफैँलाई गोली हानी घाइते भएका रामबहादुरलाई बेहोस अवस्थामा फेला पारी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याइएको छ।
बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमान्–श्रीमतीबीच विवाद भएको स्थानीयले बताएका छन्। सोही क्रममा रामबहादुरले आफ्नो साथमा रहेको भरुवा बन्दुकले श्रीमतीलाई प्रहार गरेका हुन्।
स्थानीयले जानकारी दिएपछि बुधबार राति नै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। मृतकका माइती पक्ष आएपछि मात्र शव उठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

























