
काठमाडौंं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि प्राविधिक तथा प्रक्रियागत काम सुरु गरेको छ।
मन्त्रालयले बजेट क्यालेन्डरलाई स्वीकृति दिँदै जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्थाअनुसारको तालिका तय गरेको हो।
स्वीकृत क्यालेन्डरअनुसार जेठ १ गतेसम्ममा बजेटको पहिलो मस्यौदा तयार गर्ने लक्ष्य राखिएको छ। आगामी जेठ ६ गते राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ गर्ने, १३ गते अन्तिम रूप दिने र १४ गते योजना आयोग तथा मन्त्रिपरिषद्मा जानकारी गराएर छपाइमा पठाउने तयारी मन्त्रालयले गरेको छ।
मन्त्रालयले राजस्व परामर्श समिति गठन गरेर सुझाव सङ्कलनको काम समेत अघि बढाइसकेको छ। बजेट वक्तव्यसँगै तयार हुने आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानहरूको वित्तीय स्थिति, विनियोजन ऐन, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक ऐन निर्माणको काम पनि सँगसँगै अघि बढिरहेको मन्त्रालयले जनाएको छ।
बजेट तर्जुमाका लागि मन्त्रालयले विभिन्न मन्त्रालयहरूलाई खर्चको सिलिङ र मार्गदर्शन पठाइसकेको छ। यसपटकको मार्गदर्शनमा खर्चमा मितव्ययिता अपनाउने, नतिजामुखी विनियोजन गर्ने र ‘आयोजना बैंक’ मा रहेका आयोजनालाई मात्र प्राथमिकता दिने उल्लेख छ। राजस्वका मुख्य नीतिहरू भने बजेट निर्माणको अन्तिम चरणमा मात्र टुङ्गो लगाउने मन्त्रालयको योजना छ।

























