
काठमाडौं । होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिए। पर्यटन क्षेत्रले देशको आर्थिक गतिविधिमा ठूलो योगदान दिन सक्ने भए पनि अहिले स्पष्ट मार्गचित्र नभएको उनले बताए।
अध्यक्ष शाहले आगामी ५ वर्षका लागि बन्न लागेको सरकारले ठोस योजना ल्याउनुपर्ने र सोही आधारमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए। उनले आगामी ५ वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितको योजना बनाउन सरकारलाई सुझाव दिए। उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक नीति, ऐन र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ।
पर्यटक आकर्षणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको शाहले बताए। उनका अनुसार निजी क्षेत्र अहिले पनि प्रवर्द्धनका कार्यमा सक्रिय रहेको छ। सरकारले निजी क्षेत्रको भूमिका र कार्यका बारेमा स्पष्ट नीति ल्याएमा निजी क्षेत्र थप ऊर्जाका साथ काम गर्न तयार रहेको उनले बताए। दुई तिहाइ बहुमत नजिकको सरकार बन्न लागेकोमा पर्यटन क्षेत्र उत्साहित रहेको उनले सुनाए।

























