
झापा। मदिरा सेवन गरी वडा कार्यालयमा वडाध्यक्ष र कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा झापाको गौरीगञ्ज गाउँपालिका–६ का वडा सदस्य नितेशकुमार साह पक्राउ परेका छन्। ३२ वर्षीय साहले शनिबार बिहान ११ बजे वडा कार्यालयमा पुगेर ४५ वर्षीय वडाध्यक्ष बद्रीनारायण यादवसहितका कर्मचारीहरूलाई जथाभाबी गालीगलौज गरेका थिए।
वडाध्यक्ष यादव र वडा सदस्य साह दुवै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। नाताले मामा–भान्जा पर्ने उनीहरूबीच भारतबाट भागेर आएका केटाकेटीको विषयलाई लिएर विवाद भएको बुझिएको छ। वडा सदस्य साहले मदिराको नशामा लफडा गरेपछि वडाध्यक्ष यादवले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा गाली बेइज्जती र अभद्र व्यवहार गरेको भन्दै लिखित जाहेरी दिएका थिए।
जाहेरी परेपछि शनिबार साँझ ६ बजे प्रहरी वरिष्ठ नायब निरीक्षक मानबहादुर मिश्रको कमाण्डमा खटिएको टोलीले साहलाई डौवाबारीस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























