
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा मृत फेला परेकी १६ वर्षीया बालिका इनिसा विकको मृत्यु प्रकरणमा नेपाल प्रहरीले आफ्नो अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहनजंग बुढथापाका अनुसार आरोपितहरूको बयान र प्राप्त प्रमाणका आधारमा तयार पारिएको प्रतिवेदन बुधबार पेश गरिएको हो ।
यस घटनाको सुक्ष्म अनुसन्धानका लागि काठमाडौँबाट आएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि अनुसन्धान सकेर आइतबार फर्किसकेको छ । प्रहरीले घटनासँग सम्बन्धित केही प्राविधिक रिपोर्टहरू आउन बाँकी रहे तापनि ती रिपोर्टहरू अदालतमा मुद्दाको सुनुवाइ हुँदै गर्दा पेश गर्न सकिने जनाएको छ । गत फागुन २३ गते ट्युसन पढ्न हिँडेकी इनिसा वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकैको सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्याउँदा उनलाई मृत घोषणा गरिएको थियो ।
प्रहरी प्रतिवेदनले पक्राउ परेका चारै जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । अनुसन्धानको निष्कर्षअनुसार घटनामा मुख्य संलग्नता १६ वर्षीय एक युवकको देखिएको छ भने २४ गते पक्राउ परेका अन्य तीन युवकहरू घटनामा प्रत्यक्ष संलग्न नभए पनि घटनास्थलमा लापरबाही गरेको ठहर गरिएको छ । ती युवकहरूले समयमै प्रहरीलाई खबर नगरेको र घटना लुकाउन खोजेको जस्ता कैफियत देखिएकाले उनीहरूविरुद्ध पनि मुद्दा अघि बढाइने भएको छ ।
यता, घटना घटेको १९ दिन बितिसक्दा पनि इनिसाको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा नै रहेको छ । पीडित परिवारले घटनाको निष्पक्ष छानबिन भई दोषीलाई कारबाही नभएसम्म र न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान कायमै राखेका छन् । सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले यसलाई गम्भीर रूपमा अनुसन्धान गरिरहेको छ ।

























