
काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा सकारात्मक रौनक देखिएको छ। शुक्रबार नयाँ सरकार गठन हुने तयारीका बीच आज नेप्से परिसूचक दोहोरो अङ्कले बढ्नुका साथै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।
बिहीबार नेप्से परिसूचक १४.२१ अङ्कले बढेर २९५०.१६ विन्दुमा पुगेको छ। बजार खुलेदेखि नै केही उतारचढाव देखिए पनि अन्त्यमा सुधारसहित बन्द भएको हो। शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन हुने कार्यक्रम रहेकाले सरकार गठनअघिको यो अन्तिम कारोबार हो। अब आइतबार मात्र बजार खुल्नेछ।
आज कुल ३४३ कम्पनीका ३ करोड ४ लाख कित्ता सेयर १ लाख ४२ हजार ७३४ पटक किनबेच हुँदा १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएकामध्ये १७८ कम्पनीको मूल्य बढेको छ भने ८० कम्पनीको मूल्य घटेको छ। ८ कम्पनीको मूल्य भने स्थिर रह्यो।
आजको बजारमा विकास बैंक, जीवन बीमा र ट्रेडिङ समूहका सूचक घटेका छन् भने म्युचुअल फण्ड स्थिर रह्यो। यीबाहेक अन्य सबै समूहका सूचकहरूमा हरियाली छाएको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इनको मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। सोलु र भुजुङ हाइड्रोपावरको मूल्य पनि करिब १० प्रतिशतले बढेको छ। यता पञ्चकन्या माई हाइड्रोपावरको मूल्य भने सबैभन्दा धेरै ७.४८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर ९४ करोड २९ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। त्यसैगरी एसवाई प्यानलको ७१ करोड ९२ लाख र नेशनल हाइड्रोपावरको ४६ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।



















