
विराटनगर । कोशीलगायतका विभिन्न प्रदेशमा सामुदायिक बीउ बैंकमार्फत रैथाने बाली जोगाउने अभियानलाई तीव्र पारिएको छ । रैथाने बाली जोगाउनका लागि नयाँ हिसाबले पहल गर्ने प्रतिबद्धता कृषिकर्मीहरुले गरेका छन् ।
सुनसरीको दुहबीमा सम्पन्न तीन दिने महत्वपूर्ण तालिमले कृषि जैविक विविधता संरक्षण र सामुदायिक बीउ बैंक सुदृढीकरणको विषयलाई स्थानीय तहको प्राथमिकतामा दृढ रूपमा स्थापित गर्ने संकेत दिएको छ । उक्त तालिमले कृषि सम्बन्धी ज्ञान आदानप्रदानसँगै व्यवहारिक सीप, नीतिगत सुधार र समन्वयलाई नयाँ उचाइ दिएको सहभागीहरूको निष्कर्ष छ ।
तालिममा कोशी, मधेश र बाग्मती प्रदेशका १७ स्थानीय तहका कृषि शाखा प्रमुख, प्राविधिक तथा कृषिकर्मीहरू सहभागी थिए । चैत्र १० देखि १२ गते (मंगलबार–बिहीबार)सम्म सञ्चालन भएको तालिम बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सामुदायिक बीउ बैंक संघ नेपालसँगको समन्वयमा आयोजना गरेको हो ।

संघीय सशर्त अनुदान प्राप्त गर्ने पालिकाहरूका कृषिकर्मीहरूलाई लक्षित गर्दै आयोजना गरिएको तालिमको मूल उद्देश्य कृषि जैविक विविधताको संरक्षण, सामुदायिक बीउ बैंकको स्थापना र सुदृढीकरण तथा रैथाने बाली प्रवर्धनका कार्यक्रमलाई प्रभावकारी बनाउनु थियो । तालिमको पहिलो दिनदेखि नै विषयवस्तु गहिराइमा प्रवेश गराइएको थियो ।
केन्द्रका माटो विज्ञ मदन मसारिनीले कृषि जैविक विविधता संरक्षणको सैद्धान्तिक र व्यवहारिक पक्षसँगै सामुदायिक बीउ बैंक सुदृढीकरण एवं रैथाने बाली प्रवर्धनका लागि केन्द्रले सञ्चालन गर्ने वार्षिक कार्यक्रमहरूको विस्तृत जानकारी प्रस्तुत गरे । उनले स्थानीय तहमा जैविक विविधताको संरक्षण वातावरणीय सरोकार मात्र नभएर खाद्य सुरक्षा, पोषण र कृषकको आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिएको विषय भएको स्पष्ट पारे ।
सामुदायिक बीउ बैंक संघ नेपालका कार्यक्रम सल्लाहकार तथा सामुदायिक बीउ बैंक विज्ञ पीताम्बर श्रेष्ठले नेपालको सन्दर्भमा कृषि जैविक विविधताको महत्व, यसको घट्दो अवस्था र संरक्षणको आवश्यकताका बारेमा विश्लेषणात्मक प्रस्तुति दिए । तालिमका सहजकर्ता उनले सामुदायिक बीउ बैंकलाई बीउ भण्डारण गर्ने संरचना मात्रै नभएर स्थानीय ज्ञान, परम्परा र कृषकको अधिकार जोगाउने सशक्त माध्यमका रूपमा चित्रित गरे ।
श्रेष्ठले बीउ बैंकमार्फत स्थानीय बालीको पुनर्जीवन र कृषकको बीउमा पहुँच सुनिश्चित गर्ने उपायहरू स्पष्ट पारेका छन् । कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत टोनी बर्देवाले कोशी प्रदेशमा हाल सञ्चालनमा रहेका नीति, कार्यक्रम र प्राप्त उपलब्धिहरू प्रस्तुत गर्दै प्रदेशस्तरमा भएका प्रयासहरूको यथार्थ चित्र प्रस्तुत गरे । उनले प्रदेश सरकारले कृषि जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राख्दै अघि बढेको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्यको आवश्यकता औंल्याए ।

दोस्रो दिन तालिमलाई अझ व्यवहारिक र प्राविधिक बनाइएको थियो । गौरादह कृषि क्याम्पसका प्रमुख सुवोध खनालले कृषि शिक्षामा जैविक विविधताको समावेश र स्थानीय तहसँगको सहकार्यको सम्भावनाबारे प्रशिक्षण दिएका थिए । उनले शैक्षिक संस्था र स्थानीय सरकारबीच सहकार्य बढाएर अनुसन्धान, प्रविधि हस्तान्तरण र कृषक सशक्तीकरण गर्न सकिने बताए ।
मुख्य सहजकर्ता श्रेष्ठले सामुदायिक बीउ बैंक स्थापना गर्दा अपनाउनुपर्ने चरणहरूका बारेमा जानकारी दिए । उनका अनुसार समुदाय परिचालनदेखि अभिलेखीकरण, बीउ संकलन, भण्डारण र व्यवस्थापनसम्मको चरणका बारेमा प्रशिक्षण दिएका छन् । सहभागिहरूलाई कृषि जैविक विविधताको अभिलेखीकरण गर्ने विधि र प्रक्रिया सम्बन्धी अभ्याससमेत गराइएको थियो । जसले उनीहरूलाई आफ्नो पालिकामा काम सुरु गर्न सक्षम बनाएको छ ।
माटो विज्ञ मसारिनीले कृषि जैविक विविधता तथा सामुदायिक बीउ बैंकसँग सम्बन्धित संघीय र प्रादेशिक ऐन, नीति, नियमावली तथा कार्यविधिहरूको विश्लेषणात्मक प्रस्तुति दिए । उनले कानुनी संरचना बुझेर मात्र कार्यक्रम दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्न सकिनेमा जोड दिएका छन् ।
तालिमको तेस्रो दिन भने सहभागीहरूलाई झापाको शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित शिवगञ्ज सामुदायिक बीउ बैंकको अवलोकन भ्रमण गराइएको थियो । त्यहाँ पुगेपछि उनीहरूले सिद्धान्तभन्दा व्यवहार कति शक्तिशाली हुन्छ भन्ने प्रत्यक्ष अनुभव गरे । बीउ बैंकका सदस्यहरूले स्थानीय बाली विविधता संरक्षण र प्रवर्धनका लागि सञ्चालन गरिरहेका गतिविधिहरू प्रस्तुत गर्दा सहभागीहरूमा गहिरो प्रभाव परेको थियो ।
शिवगञ्ज सामुदायिक बीउ बैंकमा धानका १०७ स्थानीय जातसहित १३८ प्रकारका स्थानीय बीउ संरक्षण गरिएको जानकारी दिइयो । यति ठूलो संख्यामा स्थानीय बीउको संरक्षणले समुदाय स्तरमा गरिएको प्रयासको प्रभावकारिता प्रमाणित गरेको सहभागीहरूको भनाइ थियो । विशेष गरी ‘कालोनुनिया’ धानको अनुसन्धान, पञ्जिकरण र प्रवर्धनको कथा सहभागीहरूका लागि प्रेरणादायी बनेको थियो ।

लिबर्डको सहयोगमा गरिएको अनुसन्धानपछि विक्रम संवत २०७६ सालमा राष्ट्रिय बीउ विजन बोर्डमा पञ्जिकृत गरिएको यो धान अहिले बीउ उत्पादन तथा प्रवर्धनमा उत्कृष्ट मानिन्छ । कालोनुनिया धानको बीउ उत्पादन र प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याएबापत कृषि विभागले राष्ट्रिय धान दिवस (असार १५)को अवसरमा शिवगञ्ज सामुदायिक बीउ बैंकलाई १५ हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मानित गरेको थियो ।
उक्त पुरस्कारले समुदायस्तरमा गरिएको पहलले राष्ट्रिय मान्यता पाउन सक्छ भन्ने सन्देश दिएको थियो । भ्रमणकै क्रममा सहभागीहरूले चन्द्रडाँगी कृषि फार्ममा सञ्चालन भइरहेको मूल बीउ उत्पादन कार्यक्रम र स्थानीय बीउको संग्रहालय पनि अवलोकन गरे । यसले बीउ उत्पादनदेखि संरक्षणसम्मको सम्पूर्ण चक्रबारे उनीहरूलाई स्पष्ट पारेको थियो ।
तालिम समापनका क्रममा सहभागीहरूको प्रतिक्रिया अत्यन्त सकारात्मक र उत्साहजनक देखिएको छ । उनीहरूले यसअघि संघीय सरकारले सशर्त अनुदान पठाए पनि तालिम र प्राविधिक मार्गदर्शनको अभावमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको स्वीकार गरे । तर, यस तालिमपछि आफूहरूले आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्राप्त गरेको उनीहरूको भनाइ थियो ।
इलाम, धनकुटा, उदयपुर, सिन्धुपाल्चोक र रौतहटका सहभागीहरूले आफ्नो स्थानीय तहको नेतृत्वमा नयाँ सामुदायिक बीउ बैंक स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कृषिकर्मीको प्रतिबद्धताले आगामी दिनमा देशभर सामुदायिक बीउ बैंकको सञ्जाल विस्तार गर्न मद्धत पुग्ने छ ।
तालिमले स्थानीय बाली विविधताप्रति सकारात्मक धारणा विकासमा सहयोग पुगेको सहभागीहरुको भनाइ छ । उनीहरूका अनुसार अब रैथाने बाली संरक्षणलाई परम्परा जोगाउने कुरा नभएर भविष्यको खाद्य सुरक्षा सुनिश्चित गर्ने रणनीतिक कदमका रूपमा बुझिएको छ ।
तालिमले संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय मजबुत बनाउँदै कृषि जैविक विविधता संरक्षणको अभियानलाई नयाँ गति दिएको छ । संघीय निकाय, प्रदेश र स्थानीय तहका कृषिकर्मीबीच समन्वय स्थापना गर्न पनि तालिम सफल भएको बताइएको छ ।

























