
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको सरगर्मी बढेसँगै देश दौडाहामा रहेका उम्मेदवारहरूको टोली विराटनगर आइपुगेको छ ।
काठमाडौंबाट आएका महासंघका विभिन्न प्रदेश अध्यक्षहरू, केन्द्रीय सदस्यहरू तथा जिल्ला र नगर उद्योग वाणिज्य संघका अध्यक्षहरू सम्मिलित चुनावी प्रचारप्रसार टोलीलाई मोरङ उद्योग व्यापार संघले एक कार्यक्रमका बीच स्वागत गरेको छ ।
संघका अध्यक्ष अनुपम राठीको सभापतित्व आयोजित स्वागत तथा छलफल कार्यक्रममा निजी क्षेत्रको आगामी नेतृत्व र एजेन्डाबारे घनीभूत छलफल भएको थियो । सो अवसरमा संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह लगायतका पदाधिकारी एवं कार्यसमिति सदस्यले टोलीलाई स्वागत गरेका थियो ।
छलफलका क्रममा संघका अध्यक्ष अनुपम राठीले महासंघको आगामी निर्वाचनका उम्मेदवारहरूलाई सफलताको शुभकामना दिँदै निजी क्षेत्रको साझा र छाता संगठनलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यक रहेकोमा जोड दिए । उनले नेपाल उद्योग वाणिज्य महासंघलाई अझ बढी उत्तरदायी, अनुभवी र क्षमतावान् नेतृत्वको खाँचो रहेको बताए । उद्योगी व्यवसायीका समस्यालाई सरकारसम्म पुर्याएर समाधान गर्न सक्ने नेतृत्वका लागि मोरङ उद्योग व्यापार संघले सधैँ साथ र सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि रहने, उनले प्रस्ट्याए ।
कार्यक्रममा सहभागी उम्मेदवारहरूले निजी क्षेत्रको हकहितका लागि आफूहरूले अघि सारेका योजना र प्रतिबद्धताहरू प्रस्तुत गरेका थिए । उनीहरूले मोरङका उद्योगी व्यवसायीहरूले भोग्नुपरेका समस्या र महासंघले खेल्नुपर्ने भूमिकाका बारेमा समेत सुझाव संकलन गरेका थिए ।
भेटघाट कार्यक्रममा संघका पदाधिकारीहरूले महासंघको नेतृत्व चयन गर्दा व्यक्तिभन्दा पनि एजेन्डा र व्यावसायिक इमानदारीलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा मोरङ उद्योग व्यापार संघका कार्यसमिति सदस्यहरू र स्थानीय उद्योगीहरूको उपस्थिति रहेको थियो ।



















