
काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा खेम तिरुवा चयन भएका छन् । काठमाडौंमा भएको संस्थाको ५ औँ अधिवेशनले तिरुवाको नेतृत्वमा १५ सदस्यीय कार्यसमितिलाई नै निर्विरोध निर्वाचित गरेको हो ।उनलाई निर्विरोध चयन गरेको हो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा भूपेन्द्र राई, उपाध्यक्षमा वीरबहादुर बिक र महासचिवमा हेम राई, सचिवमा रञ्जित लकान्द्री, कोषाध्यक्षमा कबिरमान सुनुवार, सहकोषाध्यक्षमा कमल बराइली चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा रमिता सुनार, रमेश विश्वकर्मा, राजकुमार सुनुवार, विश्वास शंकर, हर्कबहादुर शंकर, रञ्जित शंकर, स्मृति गदाल र रमेश विश्वकर्मा (ख) चयन भए ।
करिब १० वर्षअघि काठमाडौं उपत्यकामा सुनचाँदी व्यवसाय गरिरहेका युवाहरूको पहलमा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च स्थापना भएको थियो । सुनचाँदी व्यवसायीका हकहितका विषयमा काम गर्दै आएको यो संस्था प्रदेश र जिल्ला स्तरमा समेत फैलिने क्रममा छ ।
नवनिर्वाचित अध्यक्ष खेम तिरुवाले सुनचाँदी व्यवसायीहरूको हकहित र बजारको शुद्धताका लागि विशेष कार्य योजना ल्याउने बताए । उनले विशेषगरी बजारमा देखिएको विलासिता करको बोझ, नेपाल–भारत सीमामा रहेको भन्सार दरको बेमेल र स्थानीय बजारमा हुने गुणस्तरहीन मिसावट जस्ता चुनौतीलाई प्राथमिकतामा राखेर समाधान खोजिने बताए ।



















