
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा ‘प्रथम बुढीगंगा गाोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
बुढीगंगा गाउँपालिकाले मंगलबार पालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजनाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
पालिकाका अध्यक्ष जितनारायण थापा मगरले पालिकाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र खेलकुद क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखेर अघि बढेको बताए । उनका अनुसार मोरङको अरु पालिकामध्ये बुढीगंगाले आफ्नो एउटा फुटबल टोली तयार पारेको छ ।
पालिकाले ‘तीन युग तीन नेतृत्व, विगत र वर्तमान स्थानीय नेतृत्वको सम्मान’ भन्ने मूल नाराका साथ चैत २१ देखि चैत २७ गतेसम्म आयोजना गर्न लागेको ‘प्रथम बुढीगंगा गोल्डकप’ को सम्पूर्ण तयारी पूरा भएको उनले सुनाए ।
पालिकालाई खेलकुदको माध्यमबाट एउटा समुन्नत गाउँ बनाउने अभियानका साथ खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर खेल र खेलाडीको वृत्ति विकासका लागि विभिन्न खेलका नियमित प्रशिक्षणको व्यवस्था मिलाएको, अध्यक्ष मगरले बताए ।
युवाहरूको व्यक्तित्व विकास र कुलतबाट जोगाउने उद्देश्यले गाउँपालिकाले फुटबलको प्रशिक्षक राखेर टिम तयार गरेको अध्यक्ष मगर प्रस्ट्याए । उनले फुटबलका साथै बुढीगंगा कराँते, कुस्ती र कबड्डी खेलका लागि प्रख्यात रहेको हुँदा, त्यो खेल र खेलाडीको विकासका लागी परेको बताए ।
प्रतियोगिता आयोजनाका संयोजक तथा २ नम्बरका वडाध्यक्ष रेवतीनारायण चौधरीले २ नम्बर वडाको अमाही खेल मैदानमा हुने प्रतियोगितामा आयोजकसहित ८ वटा टोलीको सहभागिता रहेको बताए ।
प्रतियोगितामा आयोजक पालिका बुढीगंगा, सिरहाको सल्हेश युवा क्लब, धनकुटाको राजारानी युवा क्लब, सुनसरीको धरान फुटबल क्लब, झापाको चाल्सा फुटबल क्लब, काठमाडौंको आरएफसी फुटबल क्लब, काठमाडौंको नायजेरियन फुटबल क्लब र भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता आयोजनाको अनुमानित खर्च ३९ लाख रुपैयाँ लाग्ने संयोजक चौधरीले बताए ।

























