
इनरुवा । सुनसरी जिल्लामा बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि ठूलो संख्यामा कुखुरा नष्ट गरिएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका कुखुरा फार्ममा रोग पुष्टि भएसँगै नियन्त्रणका उपाय तीव्र पारिएको पशु सेवा कार्यालयले जनाएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोका अनुसार इनरुवा नगरपालिका–२ कुसुमगाछी र इटहरी उपमहानगरपालिका–१६ लगायत क्षेत्रमा पालिएका कुखुरा तथा हाँसमा बर्डफ्लू संक्रमण पुष्टि भएको हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट परीक्षण गरी रोग पुष्टि भएपछि तत्काल नियन्त्रण अभियान सञ्चालन गरिएको उनले बताए ।
संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रका फार्महरूमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म शंकास्पद देखिएका १४ वटा फार्मबाट १९ हजार ३६५ कुखुरा नष्ट गरिएको कार्यालयले जनाएको छ । यससँगै अन्य सम्भावित जोखिम क्षेत्रमा निगरानी कडा पारिएको छ ।
प्रमुख महतोले किसानलाई कुखुरामा असामान्य लक्षण देखिए तुरुन्त जानकारी गराउन आग्रह गरेका छन् । साथै, बाह्य सम्पर्कबाट कुखुरालाई जोगाउन र जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न पनि सुझाव दिइएको छ । प्रशासनले रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै थप फैलिन नदिन सबै पक्षलाई सतर्क रहन आग्रह गरेको छ ।



















