
काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) को आयोजनामा हुने २० औँ एनएनआइपीए स्पोर्ट्स अवार्ड २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक खेलाडी संघका महासचिव शिवसुन्दर गोथेले तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
स्थानीय आयोजक बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले अवार्डमा सहभागी हुने सबैको स्वागतका लागि तयार रहेको बताउँदै अवार्ड आयोजना गर्न अवसर दिएकोमा खेलाडी संघलाई धन्यवाद दिए ।
विभिन्न २६ खेलका त्यत्ति नै संख्यामा खेलाडीलाई पुरस्कृत गरिने महासचिव गोथेले बताए । फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, जुडो, ब्याडमिन्टन, आर्चरी, फेन्सिङ, ट्रायथलन, पौडी, कुस्ती, बास्केटबल, कबड्डी, कराँते, भलिबल, तेक्वान्दो, जिम्न्यास्टिक, लन टेनिस, हक्की, टेबल टेनिस, बक्सिङ, स्की, क्यानोइङ र साइक्लिङ खेलका खेलाडीलाई जनही १५ हजार नगदसहित पुरस्कृत गरिने छ ।
त्यसबाहेक समान १–१ पुरुष / महिला सर्वोत्कृष्ट खेलाडीलाई जनही १ लाख र प्रतिभाशाली खेलाडीलाई जनही ५० हजार, एक पाका खेल व्यक्तित्वलाई गजराज जोशी आदर्श खेल व्यक्तित्व र एक खेल पत्रकारलाई एनएनआइपीए खेल पत्रकारिता पुरस्कारसहित जनही ३५ हजार तथा एक वर्ष उत्कृष्ट पारा खेलाडीलाई १५ हजार नगद पुरस्कारसहित सम्मान गरिने छ ।

























