
काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघ (एपीएफसीएएन) को १३औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) निर्वाचन हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहानैदेखि मतदानको प्रक्रिया सुरु भएको छ।
महासंघको आगामी कार्यकालको अध्यक्ष पदका लागि कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामाबिच कडा प्रतिस्पर्धा देखिएको छ। दुवै उम्मेदवार आफ्ना बलिया प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।
लामा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले उम्मेदवारी दिएका छन्। त्यस्तै, पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतम चुनावी प्रतिस्पर्धामा छन्।
यसपटकको निर्वाचनमा उपमहासचिव पदका लागि प्रमोद लामिछानेले स्वतन्त्र रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। अधिवेशनले आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।
निर्वाचनको सरगर्मी बढिरहँदा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा सहदेव खड्का भने निर्विरोध निर्वाचित भएका छन्। सगुन कन्स्ट्रक्सनका सञ्चालक खड्का पाण्डे प्यानलका तर्फबाट उम्मेदवार बनेका थिए। महासंघमा नेतृत्व लिनका लागि अनुभवी र युवा दुवै समूहले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।



















