
काठमाडौं । उपराष्ट्रपति राम सहायप्रसाद यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तीकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको प्रमुख संवाहक भएको बताएका छन् ।
उनले महिला उद्यमी महासंघ नेपालद्वारा ललितपुरमा शुक्रबारदेखि आयोजित ‘नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला’ को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले महिला उद्यमीहरू आत्मनिर्भर, समावेशी र दिगो समाज निर्माणतर्फका प्रेरक शक्ति भएको उल्लेख गरे । महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा ठुलो योगदान पुग्ने उपराष्ट्रपति यादवले भने ।
‘स्वदेशी उत्पादन उपयोग गरौँ, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको ३ दिने मेलाले जिल्ला स्तरका महिला उद्यमीहरूलाई प्रोत्साहित गर्ने उनको विश्वास छ । विगतमा घरधन्दा र पारिवारिक जिम्मेवारीमा मात्र सीमित महिलाहरू पछिल्लो समय साना घरेलु उद्योगदेखि ठुला व्यावसायिक प्रतिष्ठानसम्म सक्रिय हुनु सकारात्मक रहेको उनले बताए ।
उनका अनुसार खुद्रा व्यापार, हस्तकला, कृषि, पशुपालन र होटल रेस्टुरेन्ट जस्ता क्षेत्रमा महिलाहरूको सहभागिताले लैंगिक समानता र सामाजिक सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
नेपालको संविधानले स्वदेशी उत्पादन, श्रम, सीप र स्रोतमा आधारित उद्योगलाई प्राथमिकता दिने व्यवस्था गरेको स्मरण गराउँदै उपराष्ट्रपति यादवले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने संवैधानिक आधार रहेको प्रस्ट पारे ।
उद्यमशीलता प्रवर्द्धनका लागि राज्य, निजी क्षेत्र र नागरिक समाज सबैको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । ढाका कपडा, हस्त निर्मित गहना, घरेलु उद्योग र सौन्दर्य सेवा जस्ता क्षेत्रमा महिलाहरूको उपस्थितिले अर्थतन्त्रमा दरिलो जग बसालेको भन्दै उनले सबैलाई स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आह्वान गरे ।



















