श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २०, शुक्रबार १९:५०
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

काडमाडौं । कराँतेकी एरिका गुरुङ र टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ २० औँ एनएनआइपीए स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा काभ्रेपलान्चोकको बनेपामा भएको अवार्डमा टेबल टेनिसका स्यान्टुले ओलम्पिकको दक्षिण एसियाली छनोट जितेका थिए । उनी नेपालबाट टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्दै इतिहास रचेका थिए । उनले पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । यही सफलताको आधारमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जिते ।

स्टार कराँते खेलाडी एरिका वर्ल्ड कराँते वान युथ लिगमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । साथै अस्ट्रेलियन ओपन कराँतेमा पनि ऐतिहासिक स्वर्ण जितिन् । कराँतेमा अन्तर्राष्ट्रिय पदक जित्न सिपालु ऐरिका लगातार दोस्रो वर्ष सर्वोत्कृष्ट खेलाडी सफल भइन् । ऐरिका र स्यान्टुले सर्वोत्कृष्ट खेलाडी अवार्डसँगै एक लाख रुपैयाँ प्राप्त गरे ।

प्रतिभावान् पुरुषको अवार्ड तेक्वेन्दोका अभिषेक बराल र महिलाको अवार्ड बक्सिङकी स्वस्तिका तिरुवाले जिते । अभिषेकले छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका थिए । उनले ८० केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् । स्वस्तिकाले आइएसएफ जिम्नासाइड समर गेम्समा स्वर्ण पदक जितेकी थिइन् ।

यसअघि उनले सन् २०२१ मा दुबईमा सम्पन्न एसियाली जुनियर बक्सिङमा पनि कास्य पदक पनि जितेकी थिइन् ।
पारा खेलाडी सम्मानबाट एथलेटिक्सकी प्रभा आङदम्बे सम्मानित भएकी छिन् । प्रतिस्पर्धात्मक खेलमा प्रवेश गरेको एक वर्ष नपुग्दै उनले उल्लेखनीय उचाइ हासिल गरिन् । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित विश्वविद्यालय खेलकुदमा १५ सय मिटर दौडपछि उनी पारा खेलतर्फ आकर्षित भएकी थिइन् ।

दुबई ग्रान्ड प्रिक्सबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी उनले नयाँ दिल्लीमा ३ दशमलव ९६ मिटर जम्प गर्दै टी–४७ लङजम्पमा रजत जितिन् । जुन नेपाली पारा एथलेटिक्सकै सबैभन्दा ठुलो पदक हो ।
भलिबल प्रशिक्षक कुमार राईलाई गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मानित गरिएको छ । उनले सम्मान पत्रसहित ३५ हजार रुपैयाँ प्राप्त गरे ।

एनएनआइपीए पत्रकारिता पुरस्कारबाट सिनियर फोटो पत्रकार उदिप्तसिंह क्षेत्री सम्मानित भए । उनलाई नगद ३५ हजार रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरियो । उनीसँग दुई दशक लामो खेलकुद फोटो पत्रकारिताको अनुभव रहेको छ ।

त्यसअघि विभिन्न २६ खेलका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी २०८२ बाट पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा एरिका गुरुङ (कराँते), मीन कार्की (फेन्सिङ), तिलक पुन (आर्चरी), मौलिक महर्जन (ट्रायथलन), एर्विन श्रेष्ठ (पौडी), सुनिरा थापा (टेनिस), रसिला महर्जन (ब्याडमिन्टन), रविना चौधरी (कबड्डी), दीक्षा मगर (जुडो), प्रीति राई (फुटबल), अच्युतकृष्ण खरेल (साइक्लिङ), सन्तोषी श्रेष्ठ (एथलेटिक्स), अमरेशकुमार यादव (कुस्ती), अभिषेक बराल (तेक्वान्दो), स्वस्तिका तिरुवा (बक्सिङ), शिवजी सिलवाल (उसु), सुमित्रा रेग्मी (भलिबल), निकेश रखाल मगर (बास्केटबल), सद्भाव आचार्य (गल्फ), दिलीप यादव (भारोत्तोलन), रविन चेपाङ (र्याफ्टिङ एन्ड क्यानोइङ), नीलिमा पाण्डे (हक्की), निशा राई (ह्यान्डबल), सुमित तमखु (जिम्न्याष्टिक), श्यान्टु श्रेष्ठ (टेबलटेनिस) र लक्ष्मी राई (स्की) रहेका छन् । उत्कृष्ट सबैले जनही १५ हजार नगद पुरस्कार पाए । यिनै २६ खेलाडी मध्येबाट सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडी छनोट गरिएको हो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य र उपमेयर विमला सापकोटा दाहाल, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतले पुरस्कृत गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×