मोरङको उर्लाबारीबाट ठूलो मात्रामा प्रतिबन्धित औषधि र लागुऔषध बरामद, कारोबारी पक्राउ

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २१, शनिबार ०९:१६

विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले छापा हानेर ठूलो मात्रामा प्रतिबन्धित औषधि र लागुऔषध बरामद गरेको छ । दुई जना कारोबारी पनि पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले शुक्रबार दिउँसो १ बजेतिर उर्लाबारी नगरपालिका–३ थापा चोकस्थित ललिता तामाङको घरको कोठामा छापा हानेको थियो । तामाङको घरको कोठा भाडामा लिएर पथरीशनिश्चरे नगरपालिका–४ का ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षीय कमल दाहाल बस्दै आएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले छापा हानेर तुङहाङ र दाहाल भाडामा बस्दै आएको कोठा खानतलासी गर्दा ठूलो मात्रामा प्रतिबन्धित औषधि र लागुऔषध फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार खानतलासीका क्रममा कोठाभित्र हरियो टिनको बाकसमा लुकाएर राखिएको विभिन्न प्रकारका प्रतिबन्धित औषधि तथा लागुऔषध फेला परेका थिए ।

प्रहरीले डाइसीक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट, ट्रामाडोल क्याप्सुल, प्रामेथाजिन हाइड्रोक्लोराइड ट्याब्लेट, निट्राजेपाम ट्याब्लेट तथा अन्य औषधिहरू ठूलो परिणाममा बरामद गरेको छ । बरामद औषधिमध्ये स्पासरेस्ट लेखिएको डाइसीक्लोमिन हाइड्रोक्लोराइड यूएसपी २ हजार ३ सय ५० ट्याब्लेट, स्पासपेन फ्री लेखिएको डाइसीक्लोमिन एचसीएल २ हजार ५ सय २० ट्याब्लेट, भोमिन–२५ लेखिएको प्रामेथाजिन हाइड्रोक्लोराइड बीपी ३ सय ५० ट्याब्लेट र ट्रामोल–५० लेखिएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ९ हजार ५ सय ७० ट्याब्लेट रहेका छन् ।

त्यस्तै, रिरिसपास–२० लेखिएको डाइसीक्लोमिन हाइड्रोक्लोराइड ९ हजार ३ सय ८० ट्याब्लेट, बारालमुन लेखिएको डाइसीक्लोमिन ९ सय ४० ट्याब्लेट, निट्जासेन–१० लेखिएको निट्राजेपाम १ हजार १ सय ६५ ट्याब्लेट र एन्टिकफ लेखिएको हाइड्रोक्लोराइड तथा फेनाइलफ्रिन हाइड्रोक्लोराइड ३ सय ७० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । एसपी कटवालका अनुसार प्रतिबन्धित औषधि २६ हजार ६५ ट्याब्लेट बरामद भएको छ ।

त्यस्तै, लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) र गाँजासमेत कोठाबाट बरामद भएको छ । भिन्दाभिन्दै पोकामा २ ग्राम ७ सय र ५ ग्राम १ सय ९० मिलिग्राम गरेर ७ ग्राम ८ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी कटवालले दिए । उनका अनुसार २ किलो २ सय ३० ग्राम गाँजा पनि बरामद भएको छ ।

पक्राउ परेका तुङहाङ र दाहालको मोबाइल, स्कुटर र पर्ससहित नगद, लागुऔषधको कारोबारमा प्रयोग गरिँदै आएको डिजिटल तराजु र प्लास्टिकका रबरसमेत प्रहरीले बरामद गरेको छ । घटनास्थलबाट प्र १–०२–०५९ प १८५९ नम्बरको डिओ कम्पनीको स्कुटर बरामद भएको जानकारी प्रहरीले दिएको छ ।

साथै, नगद २२ हजार २ सय ७० रूपैयाँ बरामद भएको छ । बरामद नोटमध्ये १ हजार दरका ११ थान, ५ सय दरका १८ थान, १ सय दरका १४ थान र १० का ७ थान रहेको प्रहरीले जनाएको छ ।

ठूलो परिणामको प्रतिबन्धित औषधि, लागुऔषध र नगदसहित पक्राउ परेका तुङहाङ र दाहाललाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरु लामो समयदेखि लागुऔषधको धन्दामा संलग्न नामुद कारोबारी रहेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गरेर भारतबाट लागुऔषध आयातको प्रक्रिया, स्रोत तथा वितरणको सञ्जाललगायतका बारेमा पत्ता लगाइने एसपी कटवालले बताए । ‘विभिन्न कोणबाट विस्तृतमा अनुसन्धान सुरु गरिएको छ । लागुऔषधको कारोबार, ओसारपसार एवं भण्डारमा अरु कोही जोडिएका छन् कि भनेर पत्ता लगाउने प्रयास भइरहेको छ,’ उनले भने ।

उर्लाबारी क्षेत्रमा लागुऔषध तथा प्रतिबन्धित औषधिको अवैध कारोबार ठूलो मात्रामा हुने गरेको यस घटनाले पुष्टि गरेको छ । लागुऔषधको धन्दा नियन्त्रण गर्न प्रहरी सक्रिय बनेको कटवालले बताए । अवैध धन्दा र गतिविधि सम्बन्धी कुनै सूचना भएमा तत्काल प्रहरीलाई खबर गर्न सबैमा उनको आग्रह छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.