विराटनगरमा विराट गोल्डकपको चहलपहल, चैत २८ देखि सुरु हुँदै

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २१, शनिबार १५:२३
विराट गोल्डकप आयोजना हुने विराटनगरको सहिद रंगशाला ।

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको प्रतिष्ठा र पहिचानसँग जोडिँदै आएको ऐतिहासिक ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको ३८औँ संस्करण यही चैत २८ गतेदेखि सुरु हुने भएको छ ।

विराटनगरमा गोल्डकपको चहलपहल सुरु भइसकेको छ । सहिद रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपमा नेपाल र भारतका उत्कृष्ट ८ टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

आयोजक विराट गोल्डकप ट्रष्टका अनुसार प्रतियोगिताको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । रंगशालामा आवश्यक पूर्वाधार व्यवस्थापन, खेल तालिका, सुरक्षा प्रबन्ध र दर्शक व्यवस्थापनलाई व्यवस्थित बनाउन तीव्र गतिमा काम भइरहेको हो ।

विशेषगरी, विराटनगरमा पहिलोपटक बाँसको फ्रेमबाट सुरु गरिएको फ्लड लाइटको प्रयोग अहिले स्थायी संरचनामा रूपान्तरण भइसकेको छ । जसले रात्रिकालीन फुटबल प्रतियोगिता सञ्चालनलाई थप व्यवस्थित र आकर्षक बनाएको छ ।

यस वर्षको प्रतियोगितामा नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ क्लब)सहित झापा–११, मच्छिन्द्र क्लब, चर्च ब्वाईज युनाइटेड, सम्राट स्पोर्टिङ क्लब तथा भारत झारखण्डको अल झारखण्ड बिर्सा मुन्डा एसए क्लब सहभागी हुनेछन् । यी टोलीबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेल चैत २८ गते त्रिभुवन आर्मी क्लब र झापा–११ बीच हुनेछ । २०७१ सालमा झापा–११ ले आर्मीलाई हराउँदै उपाधि जितेको स्मरण अझै ताजा छ । त्यही भएर उद्घाटन खेललाई विशेष चासोका साथ हेरिएको छ ।

गत वर्ष २०८१ को संस्करणमा भने थ्रीस्टार क्लबले चर्च ब्वाईज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । साविक विजेता थ्रीस्टार भने यसवर्ष प्रतियोगितामा सहभागी नहुने भएको छ ।

गोल्डकप विजेता टिमले ११ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । १५ लाख रुपैयाँसम्मको पुरस्कार राशि रहेको प्रतियोगिता कोरोना महामारीपछि आर्थिक चुनौतीका कारण केही घटाइएको आयोजकले जनाएको छ ।

आयोजक विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाका अनुसार व्यक्तिगत पुरस्कारतर्फ म्यान अफ दी सिरिजलाई ५१ हजार रुपैयाँ र प्रत्येक खेलका उत्कृष्ट खेलाडी (प्लेयर अफ दि म्याच)लाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ । अन्य विधागत पुरस्कारहरूमा पनि जनही २१ हजार रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको जानकारी लामाले दिए ।

२०१८ सालदेखि ‘महेन्द्र गोल्डकप’को नामबाट सुरु भएको यस प्रतियोगिताले समयसँगै नाम र स्वरूप परिवर्तन गर्दै आएको छ । यसलाई २०६७ सालपछि ‘विराट गोल्डकप’ का रूपमा पुनःब्रान्डिङ गरेर प्रतियोगिता २०६८ सालदेखि सञ्चालन गर्न थालिएको हो । महेन्द्र गोल्डकपदेखि आगामी विराट गोल्डकप हुँदा प्रतियोगिताको ३८ औं संस्करण सम्पन्न हुनेछ ।

लामो इतिहास बोकेको यस प्रतियोगिताले नेपाली फुटबलको विकास र प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजक विराट गोल्डकप ट्रष्टका महासचिव बिनेश बस्नेतले बताए । आयोजकले यस संस्करणलाई भव्य, सभ्य र सफल बनाउन सम्पूर्ण खेलप्रेमी, स्थानीय, प्रायोजक र सरोकारवाला सबैलाई सहयोगका लागि आह्वान गरेको छ ।

विराट गोल्डकपको नाममा विराटनगरमा हुन लागेको फुटबल महोत्सवले फेरि एकपटक खेलकुदप्रेमीहरूलाई रात्रिकालीन रोमाञ्चक प्रतिस्पर्धाको आनन्द दिने बस्नेतको भनाइ छ । ‘विराट गोल्डकप विराटनगरको प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण फुटबल प्रतियोगिता हो । यसलाई सफल पार्न सबै पक्षको साथ र सहयोगको अपेक्षा गरेका छौं,’ उनले भने ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.