
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा जारी ‘प्रथम बुढीगंगा गाोल्डकप’ फुटबल प्रतियोगितामा सिरहाको सलहेश युवा क्लब विजयी हुँदै सेमिफाइनलमा पुगेको छ । बुढीगंगा– २ अमाहीमा शनिबार भएको उद्घाटन खेलमा सिरहाले काठमाडौंको आरआइएफसीलाई ४–३ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
निर्धारित ८० मिनेटको खेलको ११ औँ मिनेटमा सिरहाका फकुन्ले अभोयोमीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । सिरहाका फोडे फोफोनाले खेलको २३ औँ मिनेटमा गोल गर्दै टोलीको गोल संख्या दोब्बर बनाए ।
पुनः ४३ औँ मिनेटमा फोडेले गोल गर्दै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । सिरहाका रोमन भुजेलले ४५ औँ मिनेटमा गोल थप्दै ४ शून्यको गोलको अवस्थामा पुर्याए ।
त्यसपछि, ४–० गोल अन्तरमा पछाडि रहेको काठमाडौंले खेललाई केही सुधार गर्दै थप आक्रमण खेल प्रस्तुत गर्दै गोलान्तर कम गर्न लागे । ६३ औँ मिनेटमा काठमाडौंका सोलोमनले गोल गर्दै टोलीका लागि खाता खोले । लगत्तै ६५ औँ मिनेटमा काठमाडौंमा बिकु राईले गोल गर्दै ४–२ को अवस्था पुर्याए । काठमाडौं सोलोमनले पुनः ७४ औँ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै मतान्तर कम गरे पनि खेल नजिता निकाल्न सकेनन् ।
खेलको प्लेयर अफ द म्याच सिरहाका फोडे फोफोनाले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत आइतबारको खेल धनकुटाको रारा फुटबल क्लब र झापाको चात्या सा फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
चैत २७ गतेसम्म हुने प्रतियोगितामा आयोजकसहित ८ वटा टोलीको सहभागिता रहेको छ । जसमा आयोजक पालिका बुढीगंगा, सिरहाको सलहेश युवा क्लब, धनकुटाको रारा फुटबल क्लब, सुनसरीको धरान फुटबल क्लब, झापाको चात्या सा फुटबल क्लब, काठमाडौंको आरआइएफसी, काठमाडौंको जस्ट जोन फुटबल क्लब (नाइजेरिया) र भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

























