
काठमाडौं। साहित्यकार अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’अब रंगमञ्चमा प्रस्तुत हुने भएको छ। उक्त उपन्यासमा आधारित नाटक चैत २७ गतेदेखि मञ्चन हुने भएको हो।
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यस नाटकमा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा देखिँदै छिन्। अभिनेत्री रेखा थापा निर्माता रहेको यस नाटकको हाल धमाधम रिहर्सल भइरहेको छ।
नाटकमा बेनिशाका साथै थिएटर र कान्तिपुर फिल्म एकेडेमीका ३० भन्दा बढी कलाकारहरू मञ्चमा देखिनेछन्। नेपाली साहित्य जगत्को लोकप्रिय र सर्वाधिक बिक्री भएको उपन्यास भएकाले पनि यस नाटकलाई दर्शक र साहित्यप्रेमीहरूले निकै चासोका साथ पर्खिरहेका छन्।
कान्तिपुर फिल्म एकेडेमीले कान्तिपुर थिएटरमार्फत रंगमञ्च, सिनेमा र साहित्यलाई जोड्ने उद्देश्यले चर्चित पुस्तकहरूलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको एकेडेमीका सीईओ प्रकाश पुरीले बताए।
सेतो धरती चैत २७ गते शुक्रबारदेखि वैशाख १९ गते शनिबारसम्म मञ्चन हुने कार्यतालिका छ। बुधबार बाहेक हरेक दिन साँझ ५:१५ बजे नाटक देखाइनेछ भने शनिबार, आइतबार र नयाँ वर्षको दिन दिउँसो १:१५ बजे विशेष शो रहने आयोजकले जनाएको छ।

























