
इलाम । अलैंची बिक्रीको सिजन अन्तिम चरणमा पुग्दा इलामका किसानहरू उचित मूल्य पाएपछि उत्साही देखिएका छन्। सिजनको सुरुमा प्रतिमन ९० देखि ९५ हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य अहिले प्रतिमन ९६ हजारदेखि एक लाख रुपैयाँसम्म पुगेको छ।
इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलका अनुसार यो वर्ष अलैंचीको मूल्यको लाभ सिधै किसानको हातमा पुगेको छ। व्यापारीहरूले स्टक नराखी सिधै खरिद-बिक्री गरेका कारण गाउँको अर्थतन्त्र चलायमान बनेको छ। इलामबाट मात्रै वार्षिक करिब तीन अर्ब रुपैयाँको अलैंची निकासी हुने गरेको छ। यद्यपि, मध्यपूर्वमा जारी द्वन्द्वका कारण खाडी मुलुकमा हुने निर्यातमा भने केही कमी आएको व्यवसायीहरू बताउँछन्।
मेची भन्सार कार्यालयको तथ्याङ्कले अलैंची निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा ७ अर्ब ६७ करोड ४० लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएकोमा चालु आर्थिक वर्षको फागुनसम्ममै ९ अर्ब ४९ करोड ६१ लाख रुपैयाँको निकासी भइसकेको छ। फागुन मसान्तसम्ममा ४६ लाख ५ हजार किलोभन्दा बढी अलैंची निर्यात भएको भन्सारको तथ्याङ्क छ।
यस वर्ष हिउँदमा पर्याप्त आकाशे पानी र असिना परेका कारण सिँचाइ राम्रो भएको र आगामी वर्ष उत्पादन अझ बढ्ने अपेक्षा किसानहरूको छ। हाल नेपालका ५४ जिल्लामा अलैंची खेती विस्तार भएको छ। विशेषगरी इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा लगायतका पहाडी जिल्लाहरू अलैंची उत्पादनका मुख्य केन्द्रका रूपमा रहेका छन्। नेपालभर करिब १४ हजार ३८३ हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको अलैंची विकास केन्द्रले जनाएको छ।



















