इन्धनको मूल्यमा भारी वृद्धि : पेट्रोल २१९ रुपैयाँसम्म, ग्यास २०१० रुपैयाँ पुग्यो

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २७, शुक्रबार ०६:१२

काठमाडौं । नेपालमा इन्धनको मूल्य उल्लेख्य रूपमा बढाइएको छ । नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको मूल्यमा एकैचोटि भारी वृद्धि गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएको तथा भारतबाट महँगो दरमा इन्धन आयात गर्नु परेको कारण देखाउँदै निगमले नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँसम्म बढाइएको छ ।

यससँगै अब देशका विभिन्न क्षेत्रअनुसार पेट्रोलको मूल्य २१६ रुपैयाँ ५० पैसा देखि २१९ रुपैयाँसम्म पुगेको छ । डिजेल र मट्टितेलको मूल्य पनि २०४ रुपैयाँ ५० पैसा देखि २०७ रुपैयाँसम्म कायम गरिएको निगमले जनाएको छ । यसपटकको मूल्यवृद्धिमा सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने खाना पकाउने एलपी ग्यास पनि अछुतो रहेन ।

१४.२ किलोको ग्यास सिलिन्डरको मूल्य अब २०१० रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ६ रुपैयाँले बढाइएको छ । निगमका अनुसार नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि देशभर लागू भइसकेको छ ।

निगमले मूल्य बढाए पनि आफ्नो वित्तीय अवस्था अझै सुधार नभएको दाबी गरेको छ । पछिल्लो समायोजनपछि पनि निगमलाई प्रत्येक १५ दिनमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारको मूल्य, ढुवानी खर्च तथा विनिमय दरको प्रभावका कारण घाटा निरन्तर बढ्दै गएको निगमको भनाइ छ ।

निगमले आपूर्ति व्यवस्थापनमा थप चुनौती आउन सक्ने संकेत गर्दै उपभोक्तालाई इन्धनको प्रयोगमा संयम अपनाउन आग्रह गरेको छ । ‘आपूर्ति सन्तुलन कायम राख्न सबैले मितव्ययी रूपमा प्रयोग गर्नु आवश्यक छ,’ निगमले जारी गरेको सूचनामा उल्लेख छ ।

पछिल्लो समय मध्यपूर्वमा चर्किएको द्वन्द्व र युद्धले विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको आपूर्ति शृंखलामा असर परेको छ । ढुवानीमा अवरोध र उत्पादनमा अनिश्चितताका कारण एसियाली बजारमा समेत इन्धनको अभाव र मूल्यवृद्धिको दबाब बढिरहेको छ । नेपालजस्तो आयातमा निर्भर मुलुकमा यसको प्रभाव झनै तीव्र रूपमा देखिएको छ ।

नेपालमा पनि केही समययता इन्धन आपूर्तिमा अनियमितता देखिन थालेको छ । विभिन्न पेट्रोल पम्पमा लामो लाइन लाग्ने अवस्था दोहोरिन थालेको छ भने सरकारले समेत आपूर्ति व्यवस्थापन सहज बनाउन वैकल्पिक उपायहरू अवलम्बन गर्न थालेको छ । इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयसमेत कार्यान्वयनमा ल्याइएको छ ।

यसअघि पनि सरकारले मूल्यवृद्धिको दबाब कम गर्न करसम्बन्धी केही राहत दिएको थियो । चैत २४ गते भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिइएको थियो । तर, त्यसले अपेक्षित रूपमा मूल्य स्थिर राख्न नसकेको देखिएको छ ।

निरन्तरको मूल्यवृद्धिले उपभोक्ताको दैनिक खर्चमा सिधा असर पारिरहेको छ । यातायात भाडादेखि खाद्यान्न ढुवानी लागतसम्म बढ्ने भएकाले बजारभाउमा थप महँगी चुलिने देखिन्छ । उद्योगी, व्यवसायी र सर्वसाधारण सबै पक्षले यसको प्रभाव महसुस गर्न थालेका छन् ।

सरकार र सम्बन्धित निकायले दीर्घकालीन समाधानका उपाय खोज्नुपर्ने आवश्यकता बढ्दो रूपमा देखिएको छ । वैकल्पिक ऊर्जा स्रोतको विकास, सार्वजनिक यातायात प्रणाली सुदृढीकरण तथा इन्धनमा निर्भरता घटाउने नीतिगत पहल नगरेसम्म यस्ता मूल्यवृद्धि दोहोरिरहने विश्लेषण गरिएको छ ।

यस्तो छ निगमले जारी गरेको विज्ञप्ति

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.