
काठमाडौं । पश्चिम एसियामा जारी युद्ध र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचाक्ली बढेपछि नेपाल आयल निगम चरम वित्तीय संकटमा फसेको छ। निगमले एक सार्वजनिक अपिल जारी गर्दै इन्धनको खपत नघटाए र मूल्य समायोजन नगरे मुलुकमा इन्धनको हाहाकार हुन सक्ने चेतावनी दिएको हो।
कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार पछिल्लो मूल्य वृद्धिका कारण निगमलाई पाक्षिक १४ अर्ब अर्थात् दैनिक ९३ करोड रुपैयाँ घाटा भइरहेको छ। सरकारले चैत २४ गते भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिए पनि तेलको भाउ निरन्तर बढ्दा त्यसको प्रभाव न्यून देखिएको छ। यही बाध्यताका कारण निगमले चैत २६ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७, डिजेल र मट्टितेलमा २५, एलपी ग्यासमा प्रतिसिलिन्डर १०० र हवाई इन्धनमा ६ रुपैयाँ मूल्य वृद्धि गरेको छ। मूल्य बढाउँदा पनि निगमलाई अझै पाक्षिक ८ अर्ब घाटा हुने प्रक्षेपण गरिएको छ।
निगमले आगामी २३ अप्रिलमा भारतीय आयल कर्पोरेसन (आईओसी) लाई १६ अर्ब ३७ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने ठुलो चुनौती छ। छिमेकी मुलुकहरू श्रीलंका र पाकिस्तानले इन्धन संकट टार्न कोटा प्रणाली र अनलाइन कक्षा जस्ता कठोर कदम चालेको स्मरण गराउँदै निगमले नेपाली उपभोक्तालाई पनि मितव्ययिता अपनाउन आग्रह गरेको छ।
निगमका अनुसार एक बाइक र एक गाडी चालकले प्रतिदिन मात्र १ लिटर इन्धन बचत गरेमा राज्यको दैनिक २६ करोड रुपैयाँ जोगिनेछ। यसरी १५ दिनमा ३९० करोड रुपैयाँ बचत हुन सक्ने भन्दै निगमले सवारी साधनको अनावश्यक प्रयोग नगर्न र इन्धन खपतमा संयमता अपनाउन उपभोक्तासँग हार्दिक अपिल गरेको छ।



















