
काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख २७, २८ र २९ गते हुने भएको छ। महासंघको केन्द्रीय सचिवालयले सूचना जारी गर्दै २०८३ सालको महाधिवेशनका लागि आवश्यक तयारी र निर्देशनहरू सार्वजनिक गरेको हो।
महासंघले महाधिवेशन अगाडि जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूलाई चैत मसान्तभित्र अनिवार्य रूपमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ। तोकिएको समयमा अधिवेशन नगर्ने जिल्लाहरूलाई राष्ट्रिय महाधिवेशनमा सहभागी नगराइने सूचनामा उल्लेख छ। प्रतिनिधिहरूको नामावली सङ्कलनका लागि वैशाख १५ गते साँझ ५ बजेसम्मको समय सीमा तोकिएको छ। प्रदेश संयोजकहरूले सोही मितिभित्र प्रतिनिधिहरूको रेकर्ड केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले दुई प्रति फोटो, सदस्य संस्थाको लेबी र प्रतिनिधि शुल्क बुझाउनुपर्नेछ। आर्थिक दायित्व बाँकी रहेका सदस्यहरूलाई महाधिवेशनमा सहभागी गराइने छैन। बागमती प्रदेशका समस्याग्रस्त जिल्लाहरूको हकमा भने चैत १५ गतेभित्रै केन्द्रीय सचिवालयले तोकेका पदाधिकारीबाट नामावली प्रमाणीकरण गराई पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ।
महासंघले यस पटकको निर्वाचनलाई आधुनिक र प्रविधिमैत्री बनाउन प्राथमिकता दिएको छ। सूचनाअनुसार महासंघको केन्द्रीय र प्रदेश समितिको निर्वाचन एकै दिन र एकै स्थानमा हुनेछ। निर्वाचन प्रक्रियालाई ‘प्रविधिमैत्री विद्युतीय मतदान’ बाट सम्पन्न गरिने महासङ्घले जनाएको छ। यसले निर्वाचन प्रक्रिया छिटो र पारदर्शी हुने अपेक्षा गरिएको छ।



















