
काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले देशभर देखिएको रासायनिक मलको अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। धान र कोदोको बीउ राख्ने, मकै गोड्ने तथा चैते धानमा मल हाल्ने मुख्य सिजनमै मल नपाउँदा किसानहरू मर्कामा परेको महासंघले जनाएको छ।
महासंघले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रिय अर्थतन्त्र र खाद्य सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने धान, मकै र कोदो जस्ता रणनीतिक बाली लगाउने समयमा मलको अभाव हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख छ। “किसानहरू खेतीपाती छोडेर मलका लागि लाइन लाग्नुपर्ने र चर्को मूल्यमा कालोबजारीबाट किन्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
महासंघले कालोबजारी नियन्त्रण गर्न, साना र उत्पादक किसानलाई प्राथमिकताका आधारमा मल वितरण गर्न र दीर्घकालीन समस्या समाधानका लागि ठोस योजना बनाउन सरकारलाई आग्रह गरेको छ। संवेदनशील समयमा किसानको माग सम्बोधन नगरिए कृषि उत्पादनमा गम्भीर असर पर्ने चेतावनी समेत दिइएको छ।



















