इटहरीको अम्बे सहकारीका साना बचतकर्तालाई राहत, प्रदेश सरकारमार्फत फिर्ता पाउँदैछन् बचत

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २९, आइतबार १८:३०

विराटनगर । लामो समयदेखि अन्योलमा रहेका इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले अब आफ्नो बचत फिर्ता पाउने भएका छन् ।

कोशी प्रदेश सरकारले अघि बढाइएको प्रक्रिया अन्तिम चरणमा पुगेपछि सोमबारदेखि २० हजार रुपैयाँसम्म बचत गरेका बचतकर्तालाई रकम फिर्ता दिने कामको औपचारिक सुरुवात हुन लागेको हो । प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सबै प्रशासनिक र प्राविधिक तयारी पूरा गरिसकेको जनाएको छ ।

मन्त्रालयका सचिव डा. पशुपति ढुंगानाका अनुसार पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकतामा राखिएको छ । उनीहरूको रकम सिधै बैंक खातामा पठाउने व्यवस्था मिलाइएको उनको भनाइ छ । आफ्नै बैंक खातामा पैसा आउने भएपछि बचतकर्ता अनेक झन्झटबाट मुक्त भएका छन् ।

उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुलीले सोमबार नै मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बचत फिर्ता कार्यक्रमको औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । सरकारको यो कदमलाई समस्याग्रस्त सहकारीका कारण पीडित बनेका सर्वसाधारणप्रति उत्तरदायित्व बहन गर्ने प्रयासका रूपमा हेरिएको छ ।

यो सहकारीलाई कोशी प्रदेश सरकारले २०८१ साल पुस २३ गते समस्याग्रस्त घोषणा गरेको थियो । त्यसअघि नै पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरिएको थियो । समितिले सहकारीको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै सम्पत्ति व्यवस्थापन, ऋण असुली र धितो लिलामको प्रक्रिया अघि बढाएको थियो ।

छानबिनका क्रममा सहकारीका अध्यक्ष फणिन्द्र मगरसहितका सञ्चालक र कर्मचारीले करिब ९ हजार बचतकर्ताबाट संकलित ४२ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको पत्ता लागेको थियो । ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मगर भने सुनसरीको झुम्का कारागारबाट गत भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपेर फरार भएका थिए । उनी हालसम्म सम्पर्कविहीन रहेको कारागारले जनाएको छ ।

इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी सहकारीले विराटनगरदेखि दमकसम्म सेवा विस्तार गरेको थियो । तर, संस्थाभित्रको आर्थिक अनियमितता र व्यवस्थापन कमजोरीका कारण हजारौं बचतकर्ताको रकम जोखिममा परेपछि प्रदेश सरकारले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य जीवन काफ्लेका अनुसार पहिलो चरणमा २० हजार रुपैयाँसम्म बचत गरेका २८७ जना बचतकर्तालाई करिब १ करोड ३८ लाख रुपैयाँ फिर्ता गरिनेछ । ‘हालसम्म ११७३ जना बचतकर्ताले झन्डै २४ करोड ८८ लाख रुपैयाँ बराबरको दाबी पेस गरिसकेका छन्,’ काफ्लेले भने, ‘जसले समस्या कति व्यापक छ भन्ने देखाउँछ ।’

समितिले सहकारीका ऋणीहरूमाथि दबाब बढाउँदै रकम असुली प्रक्रिया तीव्र बनाएको थियो । ‘सहकारीले ऋणिबाट असुल गर्नुपर्ने रकम बैंकमार्फत संकलन गर्ने व्यवस्था मिलाइएको थियो,’ काफ्लेले भने, ‘कतिपय बचतकर्तालाई गलत रूपमा ऋणी देखाइएको पाइएपछि त्यस्ता व्यक्तिको हिसाब मिलान गरी यसअघि नै करिब २ करोड रुपैयाँ फिर्ता गरिसकिएको छ ।’

अहिलेसम्म असुल गरिएको रकममध्ये करिब १ करोड ३८ लाख रुपैयाँ साना बचतकर्तालाई फिर्ता गर्न लागिएको काफ्लेले बताए । समितिका अनुसार यो सुरुवात मात्र हो । आगामी दिनमा थप रकम असुली गर्दै चरणबद्ध रूपमा सबै बचतकर्तालाई फिर्ता गर्ने योजना छ ।

कोशी प्रदेश सरकारले सहकारी क्षेत्रमा देखिएको विश्वासको संकट समाधान गर्ने लक्ष्य राखेको छ । उक्त लक्ष्य अनुसार नै पहिलो चरणमा साना बचतकर्ताले रकम फिर्ता पाउन लागेका हुन् । लामो समयदेखि बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारको यो निर्णयले राहत मिल्ने छ । यद्यपि, सबै रकम फिर्ता हुन अझै समय लाग्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.