अमेरिका–इरान सम्बन्ध जटिल बन्दै, तनाव चर्किने सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३०, सोमबार १२:०९

एजेन्सी । मध्यपूर्वमा अमेरिका र इरानबीचको सम्बन्ध झन् जटिल बन्दै गएको छ । कूटनीतिक वार्ता निष्कर्षमा पुग्न नसक्दा सैन्य तयारी, तेल बजारमा वृद्धि र क्षेत्रीय द्वन्द्व एकसाथ तीव्र बनेका छन् । यसले सम्भावित युद्धको जोखिम बढाएको देखिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए पनि नभए पनि अमेरिकाको नीति परिवर्तन नहुने बताएका छन् । मेरिल्यान्डस्थित संयुक्त सैन्य हवाई आधारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वार्ता विफल भए पनि अमेरिका आफ्नो रणनीतिमा अडिग रहने बताए । पाकिस्तानको इस्लामावादमा भएको वार्ता पनि निष्कर्षविहीन बनेपछि कूटनीतिक पहल कमजोर देखिएको छ ।

Advertisement

यसैबीच, अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य आसपासका इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ । उक्त क्षेत्रमा आवतजावत गर्ने जहाजहरूको निगरानी र नियन्त्रण कडा बनाइने जनाइएको छ । विश्वको करिब पाँचौं भाग तेल आपूर्ति हुने यस महत्वपूर्ण मार्गमा यस्तो कदमले अन्तर्राष्ट्रिय बजारमा व्यापक प्रभाव पार्ने अनुमान गरिएको छ ।

इरानले भने अमेरिकी कदमलाई अस्वीकार्य भन्दै कडा प्रतिक्रिया दिएको छ । इरानी क्रान्तिकारी सुरक्षा बलले होर्मुज क्षेत्रमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै कुनै पनि उक्साहटको कडा जवाफ दिने चेतावनी दिएको छ । इरानी नौसेनाले पनि अमेरिकी कदमलाई अव्यावहारिक भन्दै आफ्नो निगरानी क्षमता बलियो रहेको बताएको छ ।

इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले देश कुनै दबाबमा नझुक्ने स्पष्ट पारेका छन् । उनका अनुसार संवादको ढोका खुलै लडाइँ हुनसक्ने छ ।। विदेशमन्त्री अब्बास अराघचीले भने सम्झौता अन्तिम चरणमा पुगेको दाबी गर्दै अन्तिम समयमा अमेरिकाले अडान फेरेको आरोप लगाएका छन् ।

तनावको असर ऊर्जा बजारमा देखिन थालेको छ । अमेरिकी कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ भने अन्तर्राष्ट्रिय बजारमा पनि तेलको मूल्य तीव्र रूपमा बढेको छ । आपूर्ति अवरुद्ध हुने सम्भावनाले बजारमा अनिश्चितता बढाएको छ ।

क्षेत्रीय स्तरमा पनि द्वन्द्व कम हुने संकेत छैन । लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व अन्त्य गर्न प्रयास भइरहेको बताएका छन् । उनले सेना फिर्ता, बन्दी मुक्त र पुनर्निर्माणमा ध्यान केन्द्रित गरिएको उल्लेख गरेका छन् ।

तर, इजरायलले आफ्नो सैन्य कारबाही जारी राख्ने संकेत दिएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनान भ्रमणका क्रममा खतरा नियन्त्रणमा आएको दाबी गरे पनि सुरक्षा क्षेत्रभित्र युद्ध जारी रहेको स्वीकार गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनले आफ्ना सवारीसाधनमा आक्रमण भएको र केही मार्ग अवरुद्ध गरिएको जनाएको छ । जसले अन्तर्राष्ट्रिय चिन्ता बढाएको छ ।

लेबनानमा जारी आक्रमणका कारण मृत्यु हुनेको संख्या दुई हजार ५५ पुगेको जनाइएको छ । इजरायलले भने युद्धविराम लागू नहुने भन्दै कारबाही जारी राख्ने अडान दोहोर्‍याएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.