१४ वर्षीय छात्रको गोलाबारीले त्रासदी, ९ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार १०:०८

एजेन्सी । टर्कीको दक्षिणी क्षेत्रमा रहेको एक विद्यालयमा भएको गोलाबारीले ठूलो मानवीय क्षति पुर्‍याएको छ । कहरामनमारास क्षेत्रस्थित आयसर क्यालिक सेकेन्डरी स्कुलमा १४ वर्षीय छात्रले अन्धाधुन्ध गोली चलाउँदा आठ विद्यार्थी र एक शिक्षकको ज्यान गएको हो ।

घटनामा अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । टर्कीका गृहमन्त्री मुस्तफा सिफ्सीले घटनाको पुष्टि गर्दै सुरक्षाकर्मीहरूले तत्कालै घटनास्थल नियन्त्रणमा लिएको बताएका छन् ।

Advertisement

उनका अनुसार आक्रमणकारी छात्र पनि घटनाकै क्रममा मारिएका छन् । गोलाबारीलेको कारण भने हालसम्म स्पष्ट हुन सकेको छैन । अनुसन्धान जारी रहेको जनाइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ती १४ वर्षीय छात्रले विद्यालयभित्र प्रवेश गरी दुईवटा कक्षा कोठामा पुगेर लगातार गोली चलाएका थिए । उनीसँग पाँच थान बन्दुक र सातवटा म्यागेजिन रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

यति ठूलो मात्रामा हतियार कसरी प्राप्त भयो भन्ने विषय पनि अनुसन्धानको केन्द्रमा रहेको छ । घटनापछि विद्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

अभिभावकहरू विद्यालय बाहिर भेला भएर आफ्ना बालबालिकाको अवस्थाको बारेमा जानकारी लिन प्रयास गरिरहेका दृश्यहरू देखिएका थिए । घाइते विद्यार्थीहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा आक्रमणकारी छात्रका बुवा पूर्वप्रहरी अधिकारी रहेको तथ्य पनि सार्वजनिक गरेको छ । यसले हतियार पहुँच र पारिवारिक पृष्ठभूमिबारे थप प्रश्न उठाएको छ ।

यसअघि मंगलबार मात्रै टर्कीको दक्षिणी क्षेत्रमा अर्को एउटा हाई स्कुलमा पनि पूर्वछात्रले गोली चलाएको घटना भएको थियो । उक्त घटनामा १६ जना घाइते भएका थिए र आक्रमणकारीले पछि आफैंलाई गोली हानेका थिए ।

लगातारका यस्ता घटनाले टर्कीमा विद्यालयको सुरक्षाका बारेमा गम्भीर चिन्ता उत्पन्न गराएको छ । अधिकारीहरूले दुवै घटनाको विस्तृत अनुसन्धान जारी राखिएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.