हर्मुज खुलेपछि तेल सस्तो, बजारमा उत्साह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ५, शनिबार ०६:३१

एजेन्सी । मध्यपूर्वमा तनाव कम हुने संकेत देखिएसँगै विश्व अर्थतन्त्रमा तत्काल प्रभाव परेको छ । इरानले हर्मुज जलडमरूमध्य व्यावसायिक जहाजका लागि खुला गरेको घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ । सेयर बजारहरूमा सकारात्मक लहर देखिएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविराम अवधिभर जलडमरूमध्य पूर्ण रूपमा खुला रहने बताएका छन् । यो मार्ग विश्वकै प्रमुख तेल आपूर्ति मार्गमध्ये एक भएकाले यसको सञ्चालन सहज हुँदा बजारमा तत्काल राहत देखिएको हो ।

Advertisement

यस घोषणापछि ब्रेन्ट कच्चा तेलको मूल्य करिब ९ प्रतिशतले घटेर प्रति ब्यारेल ९० डलरमा झरेको छ भने अमेरिकी कच्चा तेल १० प्रतिशतले घटेर करिब ८१ दशमलव ५ डलरमा पुगेको छ । केही समयअघि उच्च बिन्दुमा पुगेको मूल्यबाट यो उल्लेखनीय गिरावट मानिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यस कदमको स्वागत गरेका छन् । तर, स्थायी शान्ति नहुँदासम्म इरानी बन्दरगाहमाथिको दबाब कायम रहने संकेत दिएका छन् ।

तेलको मूल्य घटेसँगै विश्वभरका सेयर बजारहरूमा पनि सुधार आएको छ । युरोपेली सूचकहरू बढेका छन् भने अमेरिकी बजार पनि सकारात्मक देखिएको छ । त्यस्तै, सरकारी ऋणपत्रको प्रतिफल घट्दा लगानीकर्ताहरूमा आशा बढेको देखिन्छ ।

हर्मुज खुला गर्ने निर्णयले ऊर्जा आपूर्ति सहज बनाउँदै विश्व बजारमा स्थिरताको संकेत दिएको छे । यद्यपि, दीर्घकालीन शान्ति अझै अनिश्चित नै छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.