
काठमाडौं। छैटौँ एसियाली बिच खेलकुदअन्तर्गत महिला कबड्डीमा कांस्य पदक जितेको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ ।
टोलीलाई युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, नेपाल कबड्डी संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, परिवारजन लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
चीनको सान्यमा भएको खेलकुदअन्तर्गत अप्रिल २३ देखि २७ तारिखसम्म भएको महिला कबड्डीमा नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । समूह ‘बी’ मा नेपालले चाइनिज ताइपेइ, थाइल्यान्ड र बंगलादेशलाई हराउँदै विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।
खेलाडी टोलीमा मनमती विष्ट (कप्तान), अनुजा कुलुङ राई (उप कप्तान), रविना चौधरी, सिर्जना थारु, मिना नेपाली र नानुमाया पराजुली रहेका छन् । प्रशिक्षकमा रतिया राजवंशी छन् । टोलीसँगै अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा पनि नेपाल फर्किएका छन् ।
चीनको हाङझावमा भएको १९ औँ एसियाली खेलकुदमा पनि महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । त्यसबेला बिच खेलकुदमा सहभागी मिना र नानुमाया बाहेक चारै खेलाडी टोलीमा थिए ।



















