
काठमाडौं । काभ्रेको धुलिखेलमा भएको सातौँ एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको प्राविधिक तथा अफिसियल सहयोगमा नेपाल सभात संघको आयोजनामा भएको च्याम्पियनसिपमा नेपाल सर्वाधिक ३१ स्वर्ण, २० रजत र ३० कांस्य पदक जितेर टिम च्याम्पियन भएको नेपाल सभात संघका अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी दिए ।
यस्तै १८ स्वर्ण, २७ रजत र २२ कांस्यसाथ भारत दोस्रो तथा ३ स्वर्ण, ४ रजत र १ कांस्यसाथ इन्डोनेसिया तेस्रो भयो ।
च्याम्पियनसिपमा नेपालकी अमृता तामाङले फेयर प्लेको अवार्ड पाइन् भने उज्बेकिस्तानका मास्रपोभ ओमिदिल्लोल पुरुषतर्फ र भारतकी वातन्पाई महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए ।
यसैगरी, हिमालयन अन्तर्राष्ट्रिय खुला सभात च्याम्पियनसिपतर्फ न्युजिल्यान्डका ५८ वर्षीय बार्नी भ्याकी र ५४ वर्षीय फ्रान्सिस भेसेतुलु भेट्रान्स एक्सिलेन्स अवार्ड प्राप्त गरेको अध्यक्ष बस्नेतले बताए ।
प्रतियोगितामा एसियाका विभिन्न ९ देशका करिब ३ सय खेलाडी सहभागी थिए भने अन्तिम समयमा विविध कारणले गर्दा थाइल्यान्ड, इरान, बंगलादेश र जापानका खेलाडी आउन नसकेको आयोजकले जनाएको छ ।
यसैबीच आठौं एसियन सभात च्याम्पियनसिप आयोजनाका लागि इन्डोनेसियाले प्रस्ताव गरेको छ ।

























