
विराटनगर । विराटनगरमा शनिबारबाट राष्ट्रिय ३ बाइ ३ बास्केटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता आयोजक विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले छात्र र छात्रातर्फ हुने दुई दिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् । मोरङ, सुनसरी, झापा र काठमाडौंको टोलीको सहभागिता रहने प्रतियोगिताका बारेमा जानकारी दिदैं अध्यक्ष लम्सालले छात्रतर्फ १२ वटा टोली र छात्रातर्फ ५ वटा टोलीको सहभागिता रहने बताए ।
उनका अनुसार १ लाख ८५ हजार रूपैयाँ पुरस्कार रहेको प्रतियोगिताका लागि छात्रतर्फ विराटनगरबाट विराटनगर हुपर्स, आयोजक एकेडेमीको ए र बी तथा सगरमाथा रहेका छन् । त्यसैगरी, बेलबारी बास्केटबल क्लब, धरानबाट हुपर्स, होराइजन क्लब, यलम्बर, जुनास र युवा जागृति, इटहरीबाट एक्स र वाई, झापाबाट झापा बास्केटबल संघ सहभागी हुनेछन् ।
छात्रातर्फ आयोजक एकेडेमीको ए र बी, युवा जागृति धरान, झापा बास्केटबल संघ र काठमाडौंको ग्राण्ड स्टार्सले सहभागिता जनाउने छन् । दुवै स्पर्धातर्फ विजेता टोलीले समान ५० हजार रुपैयाँ हात पार्ने छन् । प्रतियोगिता विराटनगरको एभरेस्ट स्कुलको बास्केटबल कोर्टमा हुनेछ ।

























