
विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को विवाद पेचिलाे बनेकाे छ । जसका कारण साधारणसभाकाे उद्घाटन सत्रमा संघका अध्यक्ष र राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिवबीच सवाफ-जवाफ भयाे ।
विराटनगरमा आइतबारबाट सुरु भएको क्यानको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रामचरित्र मेहताले सबैले कानुनको पालना गर्नुपर्ने बताएका थिए । कसले कति कानुन मिच्यो, को कति बलियोभन्दा पनि सबै गतिविधि कानुनसम्मत बनाउनु पर्ने उनको भनाइ थियो । क्यानले २०८२ असारसम्मका लागि नवीकरण गरेको छ । त्यसयता नवीकरण गरेको छैन । नेपाल प्रिमियर लिग एनपीएलको हिसाब पनि क्यानले पारदर्शी गरेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानबिन गर्न सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई पत्र लेखेको थियो ।
नवीकरणका लागि वार्षिक प्रतिवेदन, भावी योजना, लेखा परीक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको कागजपत्रलगायत राखेपमा पेस गर्नुपर्ने हुन्छ । तर साधारणसभा नभएका कारण क्यानले कागजपत्र पेस गर्न सकेको छैन ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले देशको परिस्थितिका कारण साधारणसभामा ढिलाइ भएको बताए । पछिल्लो अवस्थाका बारेमा एसीसी र राखेपलाई यस विषयमा जानकारी पनि गराएको उनले बताए । क्यानले क्रिकेटका लागि गौरवमय काम गर्दै आएको उनको दाबी थियो । साधारणसभा हल बाहिर पत्रकारसँग कुरा गर्दै क्यानका सचिव पारस खड्काले प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारणसभामा केही ढिलाइ भएको बताएका थिए ।



















