
विराटनगर । विराटनगरमा जारी ‘विराटनगर महानगरपालिका मेयर कप वडा स्तरीय फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर ११ पुगेको छ ।
बैजनाथपुर रंगशालामा वडा नम्बर १९ को आयोजना तथा पोखरिया युथ केयर एकेडेमीको संयोजनमा भएको प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा वडा नम्बर ११ विजयी हुँदै सेमिफाइनलमा पुगेको हो ।
वडा नम्बर ११ ले वडा नम्बर १५ लाई १–० गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । वडा नम्बर ११ का लागि प्लेयर अफ द म्याच सञ्जय लिम्बूले निर्णायक गोल गरे ।
त्यस्तै, दोस्रो खेलमा वडा नम्बर १६ ले वडा नम्बर ४ लाई ३–० गोल फरकमा हराउँदै क्वाटरफाइनलमा पुगेको छ ।
वडा नम्बर १६ का लागि प्लेयर अफ द म्याच आदेश थापा मगरले २ गोल र केबल महर्जनले १ गोल गर्दै टोलीलाई विजयी बनाए ।
जेठ ३ गतेसम्म हुने प्रतियोगितामा महानगरका १० वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल वडा नम्बर १३ र २ तथा दोस्रो खेल वडा नम्बर १९ र ३ बीच हुनेछ ।



















