
काठमाडौं । उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ ।
अदालत प्रशासनले क्षेत्राधिकार नभएको भन्दै उक्त फिराद दरपीठ गरेको थियो ।
अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपभोक्ताको स्वस्थ वस्त उपभोग गर्न पाउने र बाँच्न पाउने अधिकार अदालतको क्षेत्राधिकारभित्रै पर्ने ठहर गर्दै प्रशासनको निर्णय बदर गरिदिएको हो ।
वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले नेपालमा आयात हुने चामलमा विषादी परीक्षण नगरी वितरण गरिएको भन्दै गत साता मुद्दा पेस गरेका थिए ।
प्रोग्रेसिभ सस्टेनेवल डेप्लोपर्सको एक अध्ययन प्रतिवेदन अनुसार चामलकाे नमुना परीक्षण गर्दा ८३ प्रतिशतसम्म विषादी र ढुसी नियन्त्रक रसायनको अवशेष भेटिएको थियाे ।



















