राष्ट्रिय टेबल टेनिस अर्को साता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार १७:२७
राष्ट्रिय टेबल टेनिस अर्को साता

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा ४२ औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगिता जेठ १४ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी ११ स्पर्धामा खेल हुने आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियरमा पुरुष/महिला सिंगल्स डबल्स र टिम तथा मिक्स डबल्समा खेल हुनेछ । जुनियर यु–१९ तथा क्याडेट यु–१५ मा ब्वाइज/गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।

Advertisement

जुनियर खेलाडीले सिनियरबाट सिक्ने अवसर पाउन् भन्ने उद्देश्यले जुनियर र क्याडेटको प्रतिस्पर्धा पनि राष्ट्रिय प्रतियोगिताकै दौरान गर्न लागिएको टेबल टेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले बताए ।

प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (नेपाल प्रहरी/नेपाल आर्मी/एपीएफ) गरी १० टिमको सहभागिता रहने छ । प्रत्येक टिमबाट १० का दरले १ सय खेलाडी सहभागी हुने मुख्य प्रशिक्षक बासुकलाले जानकारी दिए । त्यसबाहेक सिनियरको पुरुष/महिलामा शीर्ष ८ स्थानमा रहेका खेलाडीले तहगत छनोट बिनै सोझै प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । १० टिमबाट १ सय र शीर्ष ८ स्थानमा रहेका पुरुष/महिला गरी १६ सहित जम्मा १ सय १६ खेलाडी सहभागी हुने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जानकारी दिए । जेठ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.