जीवन विकास अस्पतालमा एमआरआई र सिटी स्क्यान सेवा सुरु 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार १९:४६
जीवन विकास अस्पतालमा एमआरआई र सिटी स्क्यान सेवा सुरु 

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले आफ्नो स्वास्थ्य सेवामा अर्को महत्त्वपूर्ण फड्को मारेको छ । ‘सबैका लागि गुणस्तरीय, प्रविधियुक्त र किफायती स्वास्थ्य सेवा’ भन्ने मूल संकल्पका साथ विगत लामो समयदेखि सक्रिय यस अस्पतालले अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा विश्व प्रसिद्ध कम्पनीका अत्याधुनिक उपकरणहरू जडान गरी डायग्नोस्टिक इमेजिङ (रोग पहिचान) सेवालाई नयाँ उचाइमा पुर्‍याएको छ । यससँगै अब कटहरी र आसपासका बिरामीहरूले जटिल रोगको पहिचानका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य भएको फाउन्डेसनले जनाएको छ ।

Advertisement

फाउन्डेसनका अध्यक्ष योगेन्द्र मण्डलले अस्पतालको नयाँ उपलब्धिको जानकारी दिँदै यो सेवा यस क्षेत्रकै स्वास्थ्य क्षेत्रमा एक ‘ऐतिहासिक कोशेढुंगा’ भएको बताए । उनले भने, ‘हामी नाफा कमाउने उद्देश्यले नभई विशुद्ध सेवाको भावनाले सञ्चालित छौँ । यो अस्पताल ‘मुनाफा वितरण नगर्ने’ संस्था भएकाले हामीले न्यूनतम शुल्कमा उच्चस्तरीय प्रविधि उपलब्ध गराएका हौँ ।’

अध्यक्ष मण्डलका अनुसार, बाहिर निजी क्लिनिक वा अस्पतालहरूमा महँगो शुल्क तिरेर एमआरआई र सिटी स्क्यान गराउनुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै जीवन विकासले विशेष सहुलियत दरमा यी सेवाहरू प्रदान गर्ने छ । यसबाट न्यून आय भएका सर्वसाधारणहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ ।

यस अस्पतालले हाल आकस्मिक तथा ट्रमा केयर, बहिरङ सेवा, मेडिसिन, सर्जरी, प्रसूति, ग्यास्ट्रोलोजिस्ट, दन्त रोग लगायतका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आएको छ । थपिएको नयाँ प्रविधिले आकस्मिक दुर्घटना र जटिल स्वास्थ्य समस्या भएका बिरामीहरूको तत्काल उपचार र सही रोग पहिचानमा ठुलो सहयोग पुग्ने अस्पताल प्रशासनले जनाएको छ ।

विगतदेखि नै समुदायको स्वास्थ्यप्रति समर्पित रहँदै आएको जीवन विकास सामुदायिक अस्पतालले प्रविधि र मानवीय सेवालाई सँगसँगै लैजाने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.