
भद्रपुर । जिल्ला कारागार झापामा जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका कैदी ६४ वर्षीय चन्द्रकुमार घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ ।
पाँचथरको नागी घर भएका घिमिरे अदालतको फैसला अनुसार १० वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए । जिल्ला अदालत झापाको फैसलाअनुसार उनले हालसम्म ८ वर्ष ८ महिना १ दिन कैद भुक्तान गरिसकेका थिए ।
अब करिब १ वर्ष ४ महिना कैद भुक्तान गर्न बाँकी थियो । तर, सजाय भुक्तान नसकिँदै उनको ज्यान गएको हो । उनलाई बचाउनका लागि विभिन्न तीनवटा अस्पतलाले गरेको प्रयास असफल भयो ।
घिमिरेलाई बिहीबार साँझ श्वासप्रश्वासमा समस्या देखिएको थियो । श्वास फेर्न गाह्रो हुन थालेपछि उनलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल लगियो ।
उनको अवस्था जटिल बन्दै गएपछि चिकित्सकको सल्लाहअनुसार शुक्रबार राति अस्पतालको आईसीयूमा राखेर उपचार सुरु गरियो । तर, उपचारका क्रममा पनि श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएपछि थप उपचारका लागि उनलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा रेफर गरिएको थियो ।
बी एन्ड सी अस्पतालमा उपचारका लागि भर्ना गर्दा उनको अवस्था निक्कै गम्भीर बनिसकेको थियो । चिकित्सकको निरन्तर प्रयासका बाबजुद पनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन । अन्ततः उपचारकै क्रममा शनिबार बिहानका राति ३ः४५ बजेतिर उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
झापा प्रहरीका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले कैदीको उपचारका क्रममा मृत्यु भएको बताए । ‘कारागार प्रशासनले उपचारका लागि विभिन्न अस्पताल पठाएको छ । तीनवटा अस्पताल घुमाउँदा पनि कैदीको ज्यान गुम्यो । चिकित्सकले बचाउन सकेनन् । बचाउनका लागि तीनवटा अस्पतालले गरेको प्रयास असफल भयो,’ उनले भने ।
मृतकको शव बी एन्ड सी अस्पतालमै राखिएको छ । घटनाको जानकारी मृतकका आफन्त र परिवारका सदस्यलाई दिइसकिएको प्रहरीले जनाएको छ । कैदीको मृत्युको कारणबारे विस्तृत विवरण चिकित्सकीय प्रतिवेदनपछि मात्र स्पष्ट हुने बताइएको छ ।

























