
विराटनगर । बढ्दो लागुऔषध दुर्व्यसनलाई नियन्त्रण गर्न र युवापुस्तामा जनचेतना फैलाउन उद्देश्यका साथ मोरङ प्रहरीले आइतबारदेखि ‘लागुऔषधविरुद्धको महाअभियान’ सुरु गरेको छ ।

महाअभियानको सुरुवातका क्रममा आइतबार बिहान विराटनगरमा प्रभातफेरी निकालिएको थियो । विराटनगरको महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी ट्राफिक चोक, मेन रोड, जलजला चोक, अस्पताल चोक हुँदै सहिद रंगशालामा पुगेर सभामा परिणत भएको थियो ।

प्रभातफेरीमा विद्यार्थी, नेपाल स्काउट, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बैंकका कर्मचारी, पूर्वप्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्था, लागुऔषधविरुद्ध काम गर्दै आएका संस्था लगायतको सहभागिता रहेको थियो ।

सभामा बोल्दै मोरङ क्षेत्र नम्बर ५ की सांसद आशा झा र नेपाल प्रहरीका प्रमुख आइजिपी दानबहादुर कार्कीले प्रहरीले मात्रै लागुऔषध नियन्त्रण गर्न नसक्ने भएको हुँदा सबै क्षेत्र लाग्नु पर्ने बताए । उनीहरूले लागुऔषध नियन्त्रण गर्नका लागि घरपरिवार, समाजको महत्त्वपूर्ण भूमिका हुने प्रस्ट्याए ।































