लागुऔषधविरुद्धको महाअभियानलाई सफल बनाऔँ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार १६:०२

लागुऔषधको दुर्व्यसन आज समाजको सबैभन्दा गम्भीर र दीर्घकालीन संकटका रूपमा देखा परेको छ । विशेषगरी युवापुस्तामा यसको फैलावटले व्यक्तिगत जीवन मात्र नभएर परिवार, समुदाय र समग्र सामाजिक संरचनामै गहिरो असर पारिरहेको छ । यही अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय मोरङले सुरु गरेको ‘लागुऔषधविरुद्धको महाअभियान (मेगा क्यान, २०८३०)लाई समयसापेक्ष र आवश्यक कदमका रूपमा देखिन्छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले ल्याएको यो अवधारणा अहिलेको आवश्यकता पनि हो ।

तर, विराटनगरबाट सुरु गरिएको अभियान औपचारिक कार्यक्रम नभई समाज परिवर्तनतर्फको साझा प्रयास बन्न सक्नुपर्छ । प्रहरीले यस अभियानलाई मोरङका १७ वटै पालिकामा विस्तार गर्ने घोषणा गर्नु सकारात्मक पक्ष हो । लागुऔषधको समस्या कुनै एक क्षेत्र, वर्ग वा उमेर समूहमा सीमित छैन । यसको सञ्जाल सहरदेखि गाउँसम्म फैलिएको छ ।

Advertisement

यसले सामाजिक सन्तुलन र युवा भविष्यलाई प्रत्यक्ष रूपमा चुनौती दिइरहेको छ । यस्तो अवस्थामा कानुनी कारबाहीले मात्र समस्या समाधान सम्भव छैन भन्ने तथ्य स्वयं प्रहरी नेतृत्वले स्वीकार गर्नु महत्वपूर्ण छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले व्यक्त गरेको ‘सामूहिक युद्ध’को अवधारणा यस सन्दर्भमा व्यावहारिक र आवश्यक दुवै देखिन्छ ।

लागुऔषधको दुर्व्यसनले व्यक्तिको शारीरिक स्वास्थ्य मात्र नभएर मानसिक अवस्था, पारिवारिक सम्बन्ध र आर्थिक जीवनसमेत तहसनहस बनाइरहेको छ । एक जना युवा दुर्व्यसनमा फस्दा त्यसको प्रभाव उसैमा सीमित हुँदैन । परिवार आर्थिक र मानसिक तनाव बढ्छ । समाजमा अपराध, हिंसा, चोरी, ठगी र अन्य असामाजिक गतिविधि बढ्नुमा पनि लागुऔषधको प्रत्यक्ष सम्बन्ध देखिन्छ । त्यसैले यो स्वास्थ्य वा सुरक्षा क्षेत्रको समस्या नभई बहुआयामिक सामाजिक संकट हो ।

मोरङ प्रहरीले सुरु गरेको अभियानमा राज्यका सबै निकाय, स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, नागरिक समाजको सहभागिता देखिनु यसको महत्वपूर्ण पक्ष हो । प्रभातफेरीदेखि सचेतनामूलक कार्यक्रम, नाटक, वृत्तचित्र प्रदर्शन र पूर्वलागुऔषध प्रयोगकर्ताको अनुभव प्रस्तुत गर्नुजस्ता गतिविधिले समस्या बुझ्न र समाधानप्रति जनचेतना बढाउन सहयोग पुर्‍याउँछ । विशेषगरी प्रभावित व्यक्तिको अनुभवले युवालाई यथार्थ बुझ्न मद्दत गर्छ । जुन कुरा बुझ्न भाषण वा सूचनाले मात्रै सम्भव हुँदैन ।

प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सुरक्षा निकायका उच्च अधिकारीसम्मको उपस्थितिले यो अभियानलाई औपचारिक समर्थन मात्र नभई नीतिगत प्राथमिकताको रूपमा समेत स्थापित गरेको देखिन्छ । तर, यति मात्र पर्याप्त हुँदैन । विगतका धेरै अभियानहरू प्रारम्भिक उत्साहपछि क्रमशः कमजोर भएको अनुभव समाजसँग छ । त्यसैले यसलाई दीर्घकालीन सामाजिक आन्दोलनका रूपमा निरन्तरता दिन सक्नु नै यसको वास्तविक सफलता हुनेछ ।

लागुऔषध नियन्त्रणमा परिवारको भूमिका सबैभन्दा निर्णायक हुन्छ । बालबालिका र किशोरकिशोरीको व्यवहार, संगत र गतिविधिमा अभिभावकको निगरानी र संवाद कमजोर हुँदा जोखिम बढ्ने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । विद्यालय तहमा नै जीवन उपयोगी शिक्षा, मनोवैज्ञानिक परामर्श र नियमित सचेतनामूलक कार्यक्रम आवश्यक छन् । त्यस्तै, स्थानीय तहले समुदायस्तरमा निगरानी संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई लक्षित गरी मोरङ प्रहरीले सुरु गरेको टिकटक भिडियो प्रतियोगिता पनि आधुनिक र व्यवहारिक पहल हो । युवाहरूलाई उनीहरूको आफ्नै माध्यमबाट सन्देश प्रवाह गर्न प्रोत्साहित गर्नुले अभियानलाई व्यापक बनाउने सम्भावना छ । तर, यसलाई प्रतिस्पर्धामा सीमित नगरी निरन्तर सचेतना अभियानसँग जोड्न आवश्यक छ ।

लागुऔषध आपूर्तिको सञ्जाल नियन्त्रण गर्नु अर्को महत्वपूर्ण पक्ष हो । सीमा क्षेत्र, सहरबजार र अवैध कारोबार हुने स्थानहरूमा कडाइ गर्न सुरक्षा निकाय अझ सक्रिय हुनुपर्छ । साथै, कानुनी प्रक्रिया छिटो, प्रभावकारी र निष्पक्ष हुन सके मात्र आपराधिक सञ्जाल कमजोर पार्न सकिन्छ ।

अन्ततः लागुऔषधविरुद्धको अभियान कुनै एक निकायको मात्र जिम्मेवारी होइन । यो समाजको सामूहिक जिम्मेवारी हो । सरकार, प्रहरी, अभिभावक, शिक्षक, सञ्चारकर्मी, युवा समूह र नागरिक समाज सबैले आआफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्न सके मात्र यसको प्रभाव देखिन सक्छ । समाजलाई सुरक्षित, स्वस्थ र उत्पादक बनाउने लक्ष्यका लागि यस्तो अभियानलाई औपचारिकता मात्र नभएर व्यवहारिक परिवर्तनसँग जोड्न आवश्यक छ ।

लागुऔषधविरुद्धको महाअभियानलाई सबैले साथ दिनु आजको आवश्यकता हो । भविष्य सुरक्षित बनाउने आधार पनि हो । सबैले साझा संकल्प गर्दै लागुऔषधविरुद्ध लाग्नुपर्ने आवश्यकता तड्कारो बनेको छ । त्यही भएर ‘लागुऔषधविरुद्धको महाअभियानलाई सबै मिलेर व्यापक जनसहभागितासहित सफल बनाऔँ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.