बन्दुकसहित एक जना पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार १०:०१
बन्दुकसहित एक जना पक्राउ 

काठमाडौं । भरुवा बन्दुकसहित प्रहरीले सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ । भरुवा बन्दुक लिएर हिँडडुल गरिरहेको अवस्थामा बागमती नगरपालिका–२ सुकुम्वासी टोलका ३८ वर्षीय बुद्धिमान घलानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरहथवा नगरपालिका–१२ लौकट टोलमा अपरिचित व्यक्तिहरू भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने सूचना आएपछि इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरको टोली खटिएको थियो ।

Advertisement

खोजतलासका क्रममा चार जनाको समूहले भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी टोलीलाई देख्ना साथ भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ । सो क्रममा बुद्धिमान भरुवा बन्दुकसहित पक्राउ परे पनि अन्य फरार भए ।

पक्राउ परेका घलानमाथि तत्काल खानतलासी गर्दा उनको साथबाट भरुवा बन्दुक एक थान, बन्दुकमा प्रयोग हुने फलामको रड एक थान, प्लास्टिकको डब्बासहित ३५ ग्राम कालो धुलो पदार्थ, स्टिलको डब्बासहित १४० ग्राम कालो धुलो पदार्थ, साइकलमा प्रयोग हुने फलामका बल ८० थान तथा फलामको रडका टुक्रा पाँच थान बरामद गरिएको छ ।

फरार भएका व्यक्तिहरूको खोजतलास तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका घलानमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बरहथवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.