त्याग, आस्था र सद्भावको सन्देशसहित देशभर बकर इद मनाइँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १४, बिहीबार ०७:१८

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो धार्मिक पर्व बकर इद (इदुल जोहा) आज (बिहीबार) देशभर त्याग, आस्था र सद्भावको सन्देश दिएर हर्षोल्लाससहित मनाइँदैछ ।

श्रद्धा, आस्था र धार्मिक उत्साहका मनाइने पर्वको अवसरमा बिहानैदेखि देशका विभिन्न मस्जिद तथा इदगाहमा मुस्लिम समुदायका श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ। काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदसहित ललितपुर, भक्तपुर, विराटनगर, नेपालगञ्ज, जनकपुर, वीरगञ्ज, कपिलवस्तु, बाँके, कैलालीलगायत विभिन्न जिल्लाका मस्जिद र इदगाहमा विशेष नमाज अदा गरिएको छ ।

Advertisement

नमाजपछि मुस्लिम समुदायका व्यक्तिहरूले एकआपसमा अँगालो हाल्दै शुभकामना आदानप्रदान गरेर पर्व मनाइरहेका छन् । इदुल फित्र (रमजान) पर्व सम्पन्न भएको करिब ७० दिनपछि मनाइने बकर इदलाई त्याग, बलिदान र मानवसेवाको प्रतीक पर्वका रूपमा लिइन्छ । धार्मिक विश्वासअनुसार अल्लाहप्रतिको पूर्ण समर्पण देखाउँदै हजरत इब्राहिम आफ्ना छोरा हजरत इस्माइललाई बलिदान दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाउने परम्परा रहिआएको छ ।

इस्लाम धर्मग्रन्थमा उल्लेख भएअनुसार अन्तिम समयमा अल्लाहले हजरत इस्माइलको सट्टा दुम्बाको कुर्बानी स्वीकार गरेका थिए । त्यसयता मुस्लिम समुदायमा ‘कुर्बानी’ दिने परम्परा चलिआएको विश्वास गरिन्छ ।

बकर इदमा धार्मिक विधिअनुसार स्वीकार गरिएका जनावरको कुर्बानी दिने गरिन्छ । कुर्बानीबाट प्राप्त मासुलाई तीन भागमा बाँड्ने परम्परा रहेको छ । एक भाग गरिब तथा असहाय व्यक्तिलाई, अर्को भाग आफन्त तथा छरछिमेकीलाई र बाँकी भाग आफ्नै परिवारका लागि राख्ने चलन रहेको मुस्लिम अगुवाहरु बताउँछन् ।

मुस्लिम धर्मावलम्बीहरूले बिहीबारदेखि लगातार तीन दिनसम्म बकर इद मनाउने प्रचलन छ । धार्मिक मान्यताअनुसार तीनै दिन कुर्बानी दिन सकिने व्यवस्था रहेको छ ।

पर्वका अवसरमा सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । बकर इदले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र परोपकारको भावना प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.