लागुऔषधसहित सुनसरी र झापाबाट १५ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १३:०५
सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ

विराटनगर । सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट ब्राउन सुगर (खैरो हेरोइन), गाँजा तथा विभिन्न प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गौरीगन्जबाट खटिएको टोलीले झापाको गौरीगन्ज गाउँपालिका–२ बाट भारतकी रुक्मणि देवी र उनकी छोरी कोमलकुमारी हरिजनलाई २० ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका–६ का दुखु मियाँलाई २ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय अनारमनीले झापा गाउँपालिका–५ का मिलनकुमार राजवंशी र कनकाई नगरपालिका–७ की सरु कार्की डोलीलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले चन्दनकुमार बहदार, प्रवीन विक, अमर राई, आइतसिंह तामाङ, समीर तामाङ र शुभराज राईलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ट्रामाडोल हाईड्रोक्लोराइड २९० क्याप्सुल, स्पास्मो १५० ट्याब्लेट, एन्टिकोफ १५० ट्याब्लेट तथा २७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ । त्यस्तै, प्रहरी चौकी भोक्राहानरसिंहले स्थानीय नियाउद्दिन आलमलाई ६२ ग्राम गाँजा र २५ ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी बांगेले बराहक्षेत्र नगरपालिका–७ की रचना राई र अरुणा विकलाई १२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिका–२ का संजोग राई, जितबहादुर राई र पुष्पा प्रधानलाई ६ ग्राम ९७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.