बोरामा पोको पारिएको अवस्थामा महिलाको शव फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १६, शनिबार १८:५४
बोरामा पोको पारिएको अवस्थामा महिलाको शव फेला

झापा । झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडीमा शनिबार बोरामा पोको पारिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा अन्दाजी ३०–३२ वर्षीया एक महिलाको शव फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।  शनिबार बिहान करिब ११ बजे स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले बोरा खोल्दा महिलाको शव फेला पारेको हो । मृतकको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानले उक्त महिलाको हत्या गरी अन्तैबाट ल्याएर पुल माथिबाट फालिएको हुनसक्ने संकेत गरेको बताउँदै, डीएसपी खड्काले भने, ‘शवको अवस्था हेर्दा २–३ दिन पुरानो जस्तो देखिन्छ । शवको प्रकृतिले यो हत्या नै भएको हुनसक्ने आशंका उब्जाएको छ । घटनाको विभिन्न तवरबाट अनुसन्धान थालिसकेका छौँ ।’

Advertisement

मृतक महिलाले रातो रङको भेस्ट र जिन्सको पेन्ट लगाएकी छिन् । उनको देब्रो हातमा ट्याटु खोपिएको छ । प्रहरीले सोही ट्याटु र हुलियाका आधारमा मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ ।
शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनालाई प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको छ । यदि कसैलाई उक्त हुलियाको महिलाबारे जानकारी भएमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.