
विराटनगर । जिल्ला कारागार मोरङमा रहेका एक बन्दीको शनिबार उपचारका क्रममा मृत्यु भएको छ ।मोरङको रंगेली नगरपालिका–२ घर भएका ४८ वर्षीय साइना मुर्मुको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
कारागारका निमित्त जेलर तुलसी पौडेलले शनिबार दिउँसो १२ः ३० बजेतिर मुर्मुलाई अचानक चक्कर लाग्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको बताए । उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषित गरेको निमित्त जेलर पौडेलले बताए । मुर्मु कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि फागुन १३ गतेदेखि कारागारमा थिए ।
उनको शवलाई कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउने तयारी भइरहेको कारागार प्रशासनले जनाएको छ ।



















