
विराटनगर । झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडीमा शनिबार बिहान बोरामा पोको पारिएको अवस्थामा फेला परेकी महिलाको शवको पहिचान खुलेको छ ।
मृतक दमक नगरपालिका–८ बसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारी रहेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान करिब ११ बजे रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले बोरा खोल्दा महिलाको शव फेला पारेको थियो ।
झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काका अनुसार प्रारम्भिक अनुसन्धानले ती युवतीको हत्या गरी अन्तैबाट ल्याएर पुल माथिबाट फालिएको देखिन्छ ।
‘ शवको प्रकृतिले यो हत्या नै भएको जस्तो देखिन्छ ,’ डीएसपी खड्काले भने ।
मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव हेरेर आफ्नै छोरी भएको पहिचान गरेका हुन् । प्रहरीका अनुसार रमा गत जेठ १३ गते राति करिब ९:३० बजे घरबाट निस्किएकी थिइन् । त्यसपछि घर नफर्किएकी उनको खोजी भइरहेकै अवस्थामा शनिबार विभत्स अवस्थामा शव फेला परेको हो ।
प्रहरीले घटनाको सम्बन्धमा विभिन्न कोणबाट गम्भीर अनुसन्धान थालिएको जनाएको छ ।



















