
सुनसरी । सुनसरीमा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने पदार्थसहित दुई जना युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ इनरुवा नगरपालिका–३ विद्युत प्राधिकरण नजिक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १६ प ८०९८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको ह्याण्डलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५.५५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको हो । त्यसपछि मोटरसाइकल चालक रामधुनी नगरपालिका–३ का रुपेश चौधरीलाई मोटरसाइकल र लागुऔषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
त्यस्तै, आइतबार नै इटहरी उपमहानगरपालिका–४ सगरमाथा टोलस्थित २९ वर्षीय अभिषेक चौधरीको कोठामा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले खानतलासी गर्दा १.५४ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो । चौधरीलाई पनि लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



















