भारतीय गायिका सुमन कल्याणपुरको निधन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार १५:०७

एजेन्सी । भारतीय संगीत क्षेत्रकी वरिष्ठ तथा प्रख्यात गायिका सुमन कल्याणपुरको ८९ वर्षको उमेरमा आइतबार साँझ मुम्बईमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको मृत्यु भएको हो ।

उनकी निकट साथी मंगला खाडिलकरले दिएको जानकारीअनुसार सुमनले आइतबार राति करिब ८ बजे अन्तिम श्वास लिएकी थिइन् । उनको अन्तिम संस्कार सोमबार मुम्बईस्थित पवनहंस श्मशान घाटमा गरिने छ । भारतीय संगीतमा पुर्‍याएको योगदानको सम्मानस्वरूप उनलाई सन् २०२३ मा पद्मभूषण प्रदान गरिएको थियो ।

Advertisement

उनको आवाजको तुलना प्रायः लता मंगेशकरसंग गरिने भए पनि उनले आफ्नो अलग्गै पहिचान स्थापित गरेकी थिइन् । हिन्दी, मराठी, असमी, कन्नड, बंगाली र ओडियासहित ११ भाषामा उनले तीन हजारभन्दा बढी चलचित्र तथा गैरचलचित्र गीतमा स्वर दिएकी थिइन् ।

विशेषगरी सन् १९६० र १९७० को दशकमा उनले आफ्नो मधुर गायनमार्फत श्रोतामाझ गहिरो छाप छोडिन् । ‘आजकल तेरे मेरे प्यार के चर्चे’, ‘ना ना करते प्यार तुम्हीं से’ र ‘तुमने पुकारा और हम चले आए’ जस्ता उनका लोकप्रिय गीतहरू आज पनि उत्तिकै रुचाइन्छन् ।

आफ्नो मौलिक गायन, समर्पण र असाधारण प्रतिभाका कारण सुमन कल्याणपुरले भारतीय संगीत इतिहासमा अमिट छाप छोडेकी छन् । उनको निधनसँगै भारतीय संगीत जगतले एक सुरीलो, विनम्र र अविस्मरणीय स्वर गुमाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.