
विराटनगर । झापाका विभिन्न स्थानबाट ठुलो परिमाणको प्रतिबन्धित लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर)सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले जेठ १८ र १९ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूकाे साथबाट ९१ ग्राम १२० मिलिग्राम खैरो हिरोइन बरामद गरेको हाे ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा झापाको मेचीनगर नगरपालिका–१४ बस्ने २५ वर्षीय आकाश चौधरी, कचनकवल गाउँपालिका–४ बस्ने २३ वर्षीय हेमन्त विश्वकर्मा र भारतको किशनगन्ज जिल्ला दलेगाउँ निवासी २० वर्षीय युवेद राजा रहेका छन् । आकाश चौधरीकाे साथबाट १६ ग्राम ४०० मिलिग्राम, हेमन्त विश्वकर्माकाे साथबाट ५ ग्राम १२० मिलिग्राम, युवेद राजाकाे साथबाट ६९ ग्राम ६०० मिलिग्राम र एक थान भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद भएकाे हाे ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

























