
महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा मंगलबार राति डाँका समूहले गोली प्रहारबाट दुई जना घाइते भएका छन् । स्थानीय रामविश्वास यादवको घरमा लुटपाट गर्न पुगेको समूहले आक्रमण गर्दा परिवारका सदस्यहरूमा त्रास फैलिएको छ ।
घटनाका क्रममा रामविश्वासका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव गोली लागेर घाइते भएका हुन् । प्रारम्भिक जानकारी अनुसार डाँका समूहले लुटपाटका क्रममा प्रतिरोध भएपछि गोली प्रहार गरेको बताइएको छ । घाइते दुवै जनालाई उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा भर्ना गरिएको छ ।
घटनाबारे प्रहरीलाई बुधबार बिहान मात्र जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार घटनास्थलको अनुसन्धान सुरु गरिएको छ । डाँका समूहको पहिचान तथा खोजी कार्य तीव्र पारिएको उनले बताए ।
आपराधिक गतिविधि बढ्दै गएको भन्दै सुरक्षा व्यवस्था थप कडा बनाउन स्थानीयले माग गरेका छन् । प्रहरीले घटनामा संलग्नको खोजी भइरहेको र चाँडै पक्राउ गरिने जनाएको छ ।

























